ढिलो मनसुनले धान उत्पादनमा ठुलो झड्का, मूल्य पनि झर्‍यो

  • Clock icon
    २०८२ कार्तिक २२, शनिबार

यो वर्ष नेपालमा धान उत्पादन अघिल्ला वर्षको तुलनामा उल्लेख्य रूपमा घट्ने देखिएको छ । सरकारी अधिकारीहरूका अनुसार वर्षातको ढाँचा फेरिनु र ढिलो मनसुन सुरु हुनुका कारण कम्तिमा पाँच लाख मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको छ ।

तराई क्षेत्रमा बर्खा ढिलो सुरु भएपछि करिब २७ हजार हेक्टर जमीन यसपालि बाँझै बसेको कृषि मन्त्रालयका आँकडाले देखाउँछ । केवल मधेश प्रदेशमै पोहोर खेती भएको जमिनको १० प्रतिशत यसपालि जोत्नै नसकिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

यति मात्र होइन, दशैंको समय असोज तेस्रो हप्तामा परेको अवाञ्छित वर्षाले कोशी प्रदेशमा करिब ५६ हजार मेट्रिक टन बराबरको धान बाली नष्ट गरेको सरकारी तथ्याङ्कले जनाउँछ । सो क्षतिको आर्थिक मूल्य करिब ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको रहेको मूल्याङ्कन गरिएको छ ।

पोहोर नेपालमा झण्डै ५९ लाख मेट्रिक टन धान उत्पादन भएको थियो, जसमा करिब ६ लाख टन चैते धानको अंश थियो । त्यतिबेला प्रतिहेक्टर औसत उत्पादकत्व ३.८ टन थियो, तर यस वर्ष उत्पादन दर समेत घट्ने अनुमान गरिएको छ ।

किसानलाई दोहोरो मार

एकातिर उत्पादन घटेको छ भने अर्कोतिर मूल्य पनि खुम्चिएको छ । गत वर्ष प्रतिकिलो धानको औसत मूल्य ४० रुपैयाँसम्म पुगेको थियो भने यो वर्ष ३० रुपैयाँभन्दा तल झरेको छ ।

कृषि विज्ञहरूका अनुसार, तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले धान आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा स्थानीय किसानले राम्रो मूल्य पाएका थिए । तर पछिल्लो सरकारले सो कर हटाएर आयात सहज बनाएपछि बजारमा विदेशी धानको प्रतिस्पर्धा बढेको र किसानको आम्दानी घटेको हो ।

भविष्यमा चामल महँगिने संकेत

अहिले धानको मूल्य घटे पनि विज्ञहरूले हिउँद सकिँदै जाँदा चामल महँगिन सक्ने चेतावनी दिएका छन् । कारण—धान भित्र्याउने समयमा परेको वर्षाले धेरै ठाउँमा भित्र्याइएको धान भिजेको छ, जसले गुणस्तरीय चामल उत्पादनमा असर पार्नेछ ।

तर खाद्यान्न संकट वा चरम महँगीमा नेपाल पुग्ने अवस्था भने छैन । किनभने भारतसँगको खुला सीमा र स्थिर विनिमय दरका कारण नेपालमा आवश्यक परे पनि सस्तो चामल सहजै भित्र्याउन सकिन्छ ।

भारत विश्वकै सबैभन्दा ठुलो चामल निर्यातकर्ता देश हो, जसले विश्व व्यापारको ४० प्रतिशत हिस्सा ओगट्छ । नेपालले भारतबाहेक चीन, भियतनाम, अमेरिका, दक्षिण कोरिया र थाइल्यान्डबाट पनि चामल आयात गर्ने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

समग्रमा, ढिलो मनसुन, प्राकृतिक विपत्ति र नीति–व्यवस्थापनका त्रुटिहरूले यो वर्षको धान उत्पादन र किसानको आम्दानी दुबैमा ठुलो असर पारेको देखिएको छ ।

  • Clock icon
    २०८२ कार्तिक २२, शनिबार