कामना सेवा फुट्सल कप २०२५ सम्पन्न, सिद्धार्थ र लुम्बिनीले जिते उपाधि

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार

कामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कामना सेवा फुट्सल कप २०२५ शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ। पाँचौं संस्करणको उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी बनेका छन्।

पुरुष वर्गको फाइनल खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्शियल बैंकलाई २–० गोलले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो। त्यस्तै, महिला वर्गको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई १–० ले हराउँदै पुनः उपाधि रक्षा गर्न सफल भएको छ।

बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्षझैं यसपटक पनि फुट्सल कप आयोजना गरेको हो। विजेता र उपविजेता टिमहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो।

प्रतियोगिताको उद्घाटन बैंकका डिसिईओ विनय दाहालले एन्फा रेफ्री अन्जना सुनुवारलाई बल हस्तान्तरण गरेर गरेका थिए भने समापन समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानाले पुरस्कार वितरण गरे।

यस वर्षको प्रतियोगितामा पुरुषतर्फ १७ टिम र महिलातर्फ ९ टिमले सहभागिता जनाएका थिए। प्रतियोगितामा बैंकका विभागीय प्रमुखहरू, कर्मचारी तथा अन्य अतिथिहरूको सक्रिय उपस्थिती रहेको थियो।

कामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा यही मंसिर २७ गते बिहीबार देशव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने समेत जनाएको छ।

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार