सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो सिजनअन्तर्गत आज मंगलबारको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः४५ बजे दुई टोलीबीच खेल सुरु हुँदा पहिलो सिजनमा कर्णालीसँग दुई पटकको निर्मम हार भोगेको चितवन यसपालि बदला लिने मुडमा हुनेछ।
अघिल्लो सिजनको दुवै भेटमा पराजित चितवनले यो पटक आफ्नो खेल सुधार गर्दै सकारात्मक सुरुवात गर्ने रणनीति बनाएको छ। पहिलो सिजनको लिग चरणको खेलमा कर्णालीले चितवनलाई एक बल बाँकी रहँदा ६ विकेटले रोमाञ्चक जित निकालेको थियो।
त्यसपछि एलिमिनेटर खेलमा पनि कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको थियो। यी हारले चितवनलाई प्लेअफबाट अघि बढ्न बाधा पुर्याएको थियो। गत सिजनमा दुवै टोलीले लिग चरणका सात खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार भोग्दै समान आठ अंक बटुलेका थिए। नेट रनरेटको आधारमा कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेका थिए।
यो सिजन कर्णालीले सुरुवातबाटै बलियो प्रदर्शन गर्दै शीर्ष स्थानमा पुग्ने लक्ष्य राखेको छ।
अनुभवी सोमपाल कामीको कप्तानीमा मैदान उत्रने कर्णालीले आफ्नो सन्तुलित टोली संरचना र अनुभवको फाइदा उठाउने योजना बनाएको छ।
