आज करिब ४ अर्ब रुपैयाँको शेयर कारोबार

लगातार दुई दिनको कारोबारमा बढेको शेयर बजार फेरि ओरालो लागेको छ।

गएको साता समग्रमा ५२.८५ अंकले घटेको सेयर बजार यो साता आइतबार पनि ५।१५ अंकले घटेको थियो।
सोमबार ९.७८ अंकले बढेको बजार मंगलबार १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा पुगेको थियो।

बुधबार ४.९८ अंकले घटेर बजार २५६१.०८ बिन्दुमा झरेको छ।
७७ कम्पनीको मात्र शेयर मूल्य बढेको बजारमा आज करिब ४ अर्ब अर्थात ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ।
१७० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको छ।
बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्।
आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहे पनि बजारले सुधारको आधार देखाएको छैन।

सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।