एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा

भक्तपुरको सल्लाघारीमा सुरु भएको नेकपा एमालेको एघारौँ महाधिवेशनमा सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान देउडा गीत नृत्यले विशेष रौनक थपेको छ ।

देशभरबाट सहभागी नेता तथा कार्यकर्ता देउडाको तालमा झुम्मिँदा महाधिवेशन स्थल उत्सवमय बनेको छ ।
महाधिवेशनको व्यस्त राजनीतिक कार्यक्रमबीच सुदूरपश्चिमबाट आएका प्रतिनिधिहरूले देउडा प्रस्तुत गरेपछि अन्य प्रदेशका नेताकार्यकर्ताहरू पनि सहभागी हुँदै सांस्कृतिक मेलमिलापको दृश्य देखिएको हो । देउडाको भाकाले थकान हटाएको र आपसी आत्मीयता बढाएको सहभागीहरूको भनाइ छ ।

सल्लाघारी परिसरमा गुञ्जिएको देउडाले महाधिवेशनलाई केवल राजनीतिक छलफलको थलो मात्र नभई नेपालको बहुसांस्कृतिक पहिचान प्रस्तुत गर्ने साझा मञ्चका रूपमा स्थापित गरेको देखिन्छ । विभिन्न भेषभूषा र मौलिक लयले सुदूरपश्चिमको संस्कृति भक्तपुरमा प्रत्यक्ष अनुभूति गराएको छ ।

महाधिवेशनमा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइनु पार्टीभित्रको विविधता, एकता र राष्ट्रिय पहिचानलाई सम्मान गर्ने अभ्यासको रूपमा लिइएको छ ।

देउडामार्फत देखिएको यो सांस्कृतिक एकताले महाधिवेशनको समग्र वातावरणलाई थप सकारात्मक र जीवित बनाएको छ । यहाँ लखौँ पूर्व तथा पश्चिमका जनता एक मुठि भएको दृश्य पनि देख्न सकिन्छ ।