फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ विश्वकपका सबै १०४ खेलका लागि सीमित सङ्ख्यामा सस्तो श्रेणीका टिकट सार्वजनिक गरेको छ। बढ्दो आलोचनापछि फिफाले सबैभन्दा सस्तो टिकटको मूल्य ४५ पाउन्ड तोकेको हो, जुन नेपाली रुपैयाँमा करिब ८ हजार ७ सयदेखि ८ हजार ७ सय ५० रुपैयाँ पर्छ।
फिफाका अनुसार यी टिकट विश्वकपमा छनोट भएका देशका समर्थकहरूका लागि लक्षित गरिएका हुन्। प्रतियोगिताको टिकट मूल्य अत्यधिक महँगो भएको भन्दै विश्वभर आलोचना चुलिएपछि समर्थकमैत्री कदमस्वरूप यो निर्णय लिइएको फिफाले जनाएको छ।
बेलायतका प्रधानमन्त्री सर कीअर स्टार्मरले फिफाको यस निर्णयको स्वागत गर्दै अझै सुधारको आवश्यकता औँल्याएका छन्। उनले आफू पनि इंग्ल्यान्डका खेल हेर्न टिकटका लागि बचत गर्ने समर्थक भएको उल्लेख गर्दै विश्वकप र वास्तविक समर्थकबीचको सम्बन्ध कायम राख्न टिकट अझ सस्तो हुनुपर्ने धारणा व्यक्त गरे।
यसअघि कायम मूल्य संरचनाअनुसार इंग्ल्यान्ड फाइनलसम्म पुगेका सबै खेल प्रत्यक्ष हेर्न चाहने समर्थकलाई ५ हजार पाउन्डभन्दा बढी खर्च लाग्ने अवस्था थियो। नयाँ ४५ पाउन्डको टिकट भने ‘सपोर्टर एन्ट्री टियर’ अन्तर्गत पर्नेछ, जुन सबैभन्दा सस्तो श्रेणी हो।
फिफाले यो श्रेणीका टिकट प्रत्येक सहभागी देशको कुल टिकट कोटाको १० प्रतिशत हुने जनाएको छ। इंग्ल्यान्ड र स्कटल्यान्डका हकमा समूह चरणका प्रत्येक खेलका लागि करिब ४ सय टिकट मात्र यस मूल्यमा उपलब्ध हुनेछन्।
क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने २०२६ विश्वकपका टिकट मूल्यबारे कतारको दोहामा भएको बैठकपछि फिफाले संशोधित निर्णय सार्वजनिक गरेको हो। फिफाको विज्ञप्तिमा टिकट वितरण सम्बन्धित राष्ट्रिय फुटबल संघमार्फत हुने र ती संघहरूले आफ्ना निष्ठावान समर्थकलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
फिफाका अनुसार प्रत्येक सहभागी संघको कुल टिकट कोटामध्ये ५० प्रतिशत सस्तो श्रेणीमा पर्नेछ। यसमा ४० प्रतिशत ‘सपोर्टर भ्यालु टियर’ र १० प्रतिशत ‘सपोर्टर एन्ट्री टियर’ रहनेछन् भने बाँकी टिकट मध्यम र प्रिमियम श्रेणीमा बाँडिनेछन्।
तुलनात्मक रूपमा हेर्दा २०२२ को कतार विश्वकपमा समूह चरणका खेलको न्यूनतम टिकट मूल्य ६८.५० पाउन्ड थियो। तर २०२६ का लागि प्रारम्भिक योजनामा इंग्ल्यान्ड र स्कटल्यान्डका खेलका टिकट १९८ पाउन्डदेखि ५२३ पाउन्डसम्म पर्ने अनुमान गरिएको थियो। फाइनल खेलको सस्तो टिकट नै ३,११९ पाउन्ड तोकिएको छ, जुन कतार विश्वकपको तुलनामा झन्डै सात गुणा महँगो हो।
