अमेरिका बाहिरियो ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट

अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यी निकायहरू ‘अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन हुने’ भएका कारण यस्तो कदम चालिएको ह्वाइट हाउसले वक्तव्यमा जनाएको छ।

ह्वाइट हाउसले कुन–कुन संगठन हुन् भन्ने सूची सार्वजनिक गरेको छैन । तर उक्त निकायहरूले ‘उग्र जलवायु नीति, वैश्विक शासन प्रणाली र अमेरिकी सार्वभौमिकता तथा आर्थिक शक्तिसँग असंगत वैचारिक कार्यक्रमहरू’ अघि बढाउने गरेको आरोप लगाइएको छ।

ह्वाइट हाउसका अनुसार यो निर्णय अमेरिकाले सदस्यता लिएको वा पक्ष रहेको सबै अन्तर्राष्ट्रिय अन्तर–सरकारी संगठनहरू, सम्मेलनहरू र सन्धिहरूको समीक्षा पछि लिइएको हो।

‘यी संस्थाहरूबाट बाहिरिनुले अमेरिकी करदाताको धनराशीले समर्थन गर्दै आएको विश्ववादी एजेन्डालाई रोक्नेछ । साथै, महत्त्वपूर्ण मुद्दाहरूलाई अक्षम वा अहंकारी ढंगले सम्बोधन गर्ने निकायहरूमा जाने अमेरिकी करदाताको पैसा अब अन्य तरिकाले प्रयोग गर्न सकिनेछ,’वक्तव्यमा भनिएको छ।

रोयटर्सका अनुसार ती संस्थाहरूको सूची बारे थप विवरण माग्दा ह्वाइट हाउसले तत्काल प्रतिक्रिया दिएको छैन ।

दोस्रो कार्यकाल सुरु गरेको एक वर्षयता ट्रम्पले संयुक्त राष्ट्रका विभिन्न निकायहरूमा अमेरिकाको आर्थिक योगदान कटौती गर्ने नीति अगाडि सारेका छन्।

 

 

अनलाइनखबरबाट साभार