काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–४, कोलटार लामाडाँडामा कफी खेतीले नयाँ सम्भावनाको ढोका खोलेको छ । विदेशबाट फर्किएपछि सिकान शङ्खलाल थोकरले सुरु गरेको व्यावसायिक कफी खेती अहिले स्थानीयका लागि प्रेरणाको स्रोत बनेको छ ।
अहिले कफी टिप्ने मुख्य मौसम भएकाले थोकरको दैनिकी व्यस्त बनेको छ । डाँडैभरि फैलिएको उनको कफी बगैँचामा बोटहरू लटरम्म फलले भरिएका छन् । परम्परागत मकै र कोदो खेतीभन्दा कफीबाट धेरै आम्दानी हुने देखेपछि उनले कफी खेती रोजेको बताउँछन् ।
कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा सक्रिय थोकरले यस वर्ष करिब २५ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरेका छन् । “गत वर्षभन्दा यस वर्ष राम्रो मूल्य पाइएको छ । खान, लाउन र छोराछोरीको पढाइ सबै खर्च कफीले धानेको छ,” उनले भने ।
थोकरको सफलताले गाउँका अन्य किसान पनि कफी खेतीतर्फ आकर्षित भएका छन् । सोही स्थानका ज्ञानबहादुर बोम्जन विगत ६ वर्षदेखि व्यावसायिक कफी खेती गर्दै आएका छन् । “मकै र कोदो लगाउँदा वर्षभरि मेहनत गर्नुपर्छ, कफी खेतीमा तीन महिना खट्दा लाखौँ आम्दानी हुन्छ,” बोम्जनले भने । ६ रोपनी जग्गामा करिब २ हजार कफीका बोट रोपेका उनले गत वर्ष ५ लाख रुपैयाँ कमाए भने यस वर्ष करिब १० लाख रुपैयाँको उत्पादन हुने अनुमान गरेका छन् ।
महाभारत गाउँपालिकाकै महादेवराट क्षेत्रकी पातलीमाया घिसिङले पनि धान खेती छोडेर कफीलाई मुख्य पेसा बनाएकी छन् । १० वर्षदेखि कफी खेती गर्दै आएकी घिसिङले धानभन्दा दोब्बर आम्दानी हुने भएकाले कफी रोजेको बताइन् । हाल उनले वार्षिक करिब १ हजार ५०० किलो कफी उत्पादन गर्दै आएकी छन् । “पहिला खान त पुग्थ्यो, तर पढाइका लागि ऋण लिनुपर्थ्यो । कफी खेतीपछि खर्च कटाएर मनग्य आम्दानी हुन्छ,” घिसिङले भनिन् ।
स्थानीय तहमा कफी खेतीले किसानको जीवनस्तर सुधार्दै गए पनि राष्ट्रिय व्यापारिक तथ्यांकले फरक चित्र देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले ४ करोड २२ लाख रुपैयाँ बराबरको २१ हजार ७७७ किलो कफी निर्यात गरेको छ । निर्यात हुने कफीमध्ये अधिकांश रोस्ट नगरिएको कच्चा कफी र केही मात्रामा रोस्ट गरिएको कफी रहेका छन् ।
औसत निर्यात मूल्य प्रतिकिलो २ हजार रुपैयाँभन्दा माथि रहनुले ‘हिमालयन अर्थोडक्स कफी’ को अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेको देखिन्छ । नेपाली कफी मुख्यतः जापान, अमेरिका र युरोपेली मुलुकमा निर्यात हुँदै आएको छ ।
तर सोही अवधिमा नेपालले ९० करोड ८६ लाख रुपैयाँ बराबरको ४ लाख १२ हजार किलो कफी आयात गरेको छ । यसले नेपालले १ रुपैयाँको कफी निर्यात गर्दा करिब साढे २२ रुपैयाँको कफी आयात गरिरहेको देखाउँछ । विशेष गरी रोस्टेड कफी, क्याफिन निकालिएको कफी, कफी एसेन्स र कन्सन्ट्रेट ठूलो मात्रामा आयात भइरहेको छ ।
कफी आयातबाट सरकारले ४० करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तथ्यांकअनुसार नेपालमा भारतबाट सबैभन्दा बढी कफी आयात हुने गरेको छ भने कतार, साउदी अरब र अमेरिकाबाट पनि कफी भित्रिने गरेको छ ।
