निक्षेप बजारमा नयाँ प्रवृत्ति, लगानीको दिशा फेरिँदै

नेपालका वाणिज्य बैंकहरूमा अधिक तरलता र लगातार घट्दो ब्याजदरको प्रत्यक्ष प्रभाव मुद्दती निक्षेप (फिक्स डिपोजिट) मा देखिन थालेको छ। बैंकहरूले व्यक्तिगत निक्षेपमा औसत ४.८३ प्रतिशत र संस्थागत निक्षेपमा ३.४४ प्रतिशत मात्र ब्याजदर दिन थालेपछि सर्वसाधारण र संस्थागत निक्षेपकर्ताहरूले मुद्दती खातामा रकम राख्ने प्रवृत्ति घटाएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको तथ्यांकअनुसार मुद्दती निक्षेपको आकार घट्दो क्रममा देखिएको छ। साउन महिनामा ३१ खर्ब १२ अर्ब ९३ करोड ८५ लाख रुपैयाँ रहेको मुद्दती निक्षेप मंसिर मसान्तसम्म आइपुग्दा घटेर ३० खर्ब १७ अर्ब २६ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा मात्रै मुद्दती निक्षेपबाट ९५ अर्ब ६८ करोड १४ लाख रुपैयाँ बाहिरिएको छ, जुन कुल मुद्दती निक्षेपको ३.१ प्रतिशत गिरावट हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा पनि मुद्दती निक्षेप ३ प्रतिशत अर्थात् ९६ अर्ब ६ करोड ३० लाख रुपैयाँले घटेको थियो। त्यस वर्ष साउनमा ३१ खर्ब ७७ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ रहेको मुद्दती निक्षेप पाँच महिनामा घटेर ३० खर्ब ८१ अर्ब ६६ करोड ६९ लाख रुपैयाँमा झरेको थियो। लगातार दुई वर्षको तथ्यांकले ब्याजदर घट्दा मुद्दती निक्षेपमा रकम थुप्रिने क्रम रोकिएको स्पष्ट संकेत गर्छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आवासीय (व्यक्तिगत) निक्षेपकर्ताहरूले सबैभन्दा बढी रकम निकालेका छन्। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा व्यक्तिगत मुद्दती निक्षेप मात्रै ९५ अर्ब ६४ करोड २८ लाख रुपैयाँले घटेको छ। साउनमा ३० खर्ब ९२ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको आवासीय मुद्दती निक्षेप पाँच महिनामा ३.१ प्रतिशतले घटेर २९ खर्ब ९६ अर्ब ४९ करोड ८५ लाख रुपैयाँमा पुगेको छ।

गैर–आवासीय मुद्दती निक्षेपमा भने तुलनात्मक रूपमा कम गिरावट देखिएको छ। साउनमा २० अर्ब ७९ करोड ६७ लाख रुपैयाँ रहेको गैर–आवासीय निक्षेप पाँच महिनामा ०.२ प्रतिशतले घटेर २० अर्ब ७५ करोड ८१ लाख रुपैयाँमा झरेको छ, जसमा केवल ३ करोड ८६ लाख रुपैयाँको कमी आएको छ।

विगत लामो समयदेखि बैंकिङ प्रणालीमा लगानी योग्य रकम थुप्रिँदै जाँदा बैंकहरूले निक्षेपको ब्याजदर क्रमशः घटाउँदै आएका छन्। कुनै समय १२–१३ प्रतिशतसम्म पुगेको मुद्दती निक्षेपको ब्याजदर अहिले ५ प्रतिशतभन्दा तल झरेपछि निक्षेपकर्ताहरू वैकल्पिक लगानीका क्षेत्रतर्फ आकर्षित हुन थालेका छन्।

मुद्दती निक्षेपमा राखिएको पैसाले महँगीअनुसारको प्रतिफल नदिने अवस्था सिर्जना भएपछि कतिपय लगानीकर्ता सेयर बजार, घरजग्गा तथा अन्य व्यवसायिक गतिविधितर्फ मोडिएको देखिन्छ। ब्याजदर अझै केही समय न्यून रहने प्रक्षेपण गरिएकाले आगामी महिनाहरूमा पनि मुद्दती निक्षेपको घट्दो प्रवृत्ति निरन्तर रहने अनुमान गरिएको छ।