पूर्वीनाकाको काँकडभिट्टा स्थित मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा गोलभेँडा आयात ९३२ प्रतिशतले वृद्धि भएको छ।
गत साउनदेखि मङ्सिरसम्म भारतबाट २६ लाख ७६ हजार ५२० किलो गोलभेँडा आयात भएको छ, जसको मूल्य रु ६ करोड ८४ लाख ७४ हजार बराबर छ। यस आयातबाट भन्सारले रु ८२ लाख ७३ हजार राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिएका छन्।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १ लाख ३८ हजार ६५० किलो गोलभेँडा मात्र आयात भएको थियो, जसको मूल्य रु ३७ लाख ३० हजार थियो। यसरी चालु आवमा भान्सामा प्रयोग हुने तरकारीजन्य गोलभेँडा आयातमा ठुलो वृद्धि भएको हुमागाईंले बताए।
नेपालमा आयात हुने अधिकांश गोलभेँडा भारतबाट आउने गरेको छ। त्यस्तै, चालु आवको पाँच महिनामा समग्र तरकारी आयात पनि वृद्धि भएको छ। सो अवधिमा सोही नाकाबाट रु १ अर्ब १८ करोड ३ लाख ५६ हजार मूल्य बराबरको तरकारी आयात भएको छ भने गत आवको सोही अवधिमा रु १ अर्ब ११ करोड ३६ लाख २३ हजारको तरकारी आयात भएको थियो।
