अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यावसायिक सम्बन्ध राख्ने देशहरूबाट अमेरिका भित्रिने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत गरिएको यो घोषणा “तत्काल लागू हुने” बताइएको छ।
ट्रम्पका अनुसार, “इस्लामिक गणतन्त्र इरानसँग व्यापार गर्ने जुनसुकै देशले संयुक्त राज्य अमेरिकासँग गर्ने सम्पूर्ण व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ।” उनले यस निर्णयलाई अन्तिम र निर्णायक कदमको रूपमा व्याख्या गरेका छन्।
ह्वाइट हाउसले ट्यारिफसम्बन्धी थप प्राविधिक विवरण सार्वजनिक गरेको छैन। कुन देशका आयातमा सबैभन्दा बढी प्रभाव पर्ने भन्ने विषय पनि स्पष्ट पारिएको छैन। हाल इरानका प्रमुख व्यापारिक साझेदारहरूमा चीन सबैभन्दा अगाडि रहेको छ भने त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र भारत रहेका छन्।
इरानमा सरकारविरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरिरहेको समयमा अमेरिकाको यो कदम आएको हो। केही दिनअघि ट्रम्पले इरानी सरकारले प्रदर्शनकारीमाथि हिंसा बढाएमा सैन्य हस्तक्षेपसमेत गर्न सकिने चेतावनी दिएका थिए। ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार हवाई आक्रमणलगायतका सैन्य विकल्पहरू अझै खुला रहेको बताएकी छन्।
आर्थिक संकट चर्किँदै
इरानको आणविक कार्यक्रमका कारण वर्षौंदेखि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धले देशको अर्थतन्त्र गहिरो संकटमा छ। सरकारी कुशासन र भ्रष्टाचारले कमजोर बनेको अर्थतन्त्रमा पछिल्लो समय थप दबाब परेको छ।
गत डिसेम्बर २८ मा खुला बजारमा अमेरिकी डलरको तुलनामा इरानी मुद्रा ‘रियाल’को मूल्य तीव्र रूपमा घटेपछि तेहरानका व्यापारीहरू सडकमा उत्रिएका थिए। रियाल गत वर्षको तुलनामा ऐतिहासिक न्यून स्तरमा झरेको छ। मुद्रास्फीति ४० प्रतिशतभन्दा माथि पुगेकाले खानेतेल, मासु र अन्य दैनिक उपभोग्य वस्तुको मूल्य तीव्र रूपमा बढेको छ।
प्रदर्शन र मानवअधिकार अवस्था
मुद्रा अवमूल्यनविरुद्ध सुरु भएको आन्दोलन अहिले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको वैधतामाथि नै प्रश्न उठ्ने स्तरमा पुगेको विश्लेषण गरिएको छ। अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’ का अनुसार हालसम्म करिब ५०० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मीको मृत्यु पुष्टि भएको छ। वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ भने हजारौँ मानिस पक्राउ परेका छन्।
इरानमा इन्टरनेट ब्लकआउटका कारण यथार्थ सूचना संकलन गर्न कठिन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसै कारण अधिकांश अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले इरानभित्रबाट प्रत्यक्ष रिपोर्टिङ गर्न नसकेको उल्लेख गरेका छन्।
