नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ‘लुम्बिनी’ को इन्जिन फिर्ता ल्याउने प्रक्रिया आठ महिनापछि पुनः सुरु भएको छ। सोमबार निगमका पाइलटहरूले इजरायलको भिसा पाएसँगै मंगलबार इन्जिन लिन इजरायल प्रस्थान गर्ने तयारीमा छन्।
निगम स्रोतका अनुसार भुक्तानीसम्बन्धी आंशिक सहमति जुटेपछि लामो समयदेखि रोकिएको इन्जिन फिर्ती प्रक्रिया अघि बढेको हो। निगमले गत पुस १४ गते जारी गरेको प्रेस विज्ञप्तिमा इन्जिन मर्मत प्रक्रिया पूरा भइसकेपछि जनवरी २०२६ को दोस्रो साता भित्र जहाज नेपाल फर्काउने तालिका रहेको उल्लेख गरेको थियो।
भुक्तानी र सहमति
इन्जिन मर्मतबापत तिर्नुपर्ने कुल रकम ६.७ मिलियन अमेरिकी डलर (करीब ८९ करोड रुपैयाँ) हो। यसमा १.४ मिलियन डलर (करीब १८ करोड ६० लाख रुपैयाँ) अझै बाँकी छ। निगम र इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिज (IAI) बीच सहमति अनुसार १ मिलियन डलर तत्काल तिर्ने र बाँकी रकम पछि तिर्ने निर्णय भएको छ।
निगमका एक अधिकारीका अनुसार, “लामो समयदेखि अन्योलमा परेको इन्जिन अब फिर्ता ल्याउने दिशामा ठोस प्रगति भएको छ, बाँकी प्राविधिक र कानुनी प्रक्रियालाई पनि समानान्तर रूपमा मिलाइँदैछ।”
ढिलाइ र आर्थिक असर
‘लुम्बिनी’ जहाजको बायाँ इन्जिन नियमित जाँचमा समस्या देखिएपछि मर्मतका लागि इजरायल पठाइएको थियो। सम्झौताअनुसार ६७ दिनभित्र मर्मत पूरा हुनुपर्ने इन्जिन आठ महिनाअघि तयार भइसकेको थियो।
तर लागतमा झन्डै ६० प्रतिशत वृद्धि, भुक्तानी रोकियो र कानुनी विवादका कारण इन्जिन इजरायलमै थन्किएको थियो। फिर्ता ल्याउन नसक्दा निगमले भाडामा अर्को इन्जिन प्रयोग गर्नु परेको थियो, जसले दैनिक करिब पौने ८ लाख रुपैयाँ खर्च बढाएको थियो।
निगमकै आन्तरिक अनुमान अनुसार पछिल्लो एक वर्षमा मात्र यसरी भाडाको इन्जिन प्रयोग गर्दा करिब १ अर्ब रुपैयाँ बराबरको अतिरिक्त नोक्सानी भएको थियो।
व्यवस्थापकीय विवाद
इन्जिन फिर्तीमा भएको ढिलाइ तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारी को कार्यकालमा भएका निर्णयसँग सम्बन्धित भएको निगम स्रोतले बताएका छन्। मर्मत लागत अस्वाभाविक रूपमा बढेपछि भुक्तानी रोकिएको, त्यसपछि IAI विरुद्ध अर्बौं रुपैयाँको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेपछि निगम कानुनी र व्यवस्थापकीय ‘डेडलक’ मा परेको थियो।
यदि समयमै इन्जिन फिर्ता नल्याउने हो भने निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड हुने जोखिम रहेको थियो, जसले दैनिक करिब डेढ करोड रुपैयाँ बराबरको प्रत्यक्ष नोक्सानी निम्त्याउने अनुमान थियो।
