नबिल बैंकले पायो नयाँ नेतृत्व

नबिल बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष निर्वाण कुमार चौधरीले औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा उनले गभर्नर प्रा. डा. विश्व पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नबिल बैंक सञ्चालक समितिको मिति २०८२ पुस २८ गते (जनवरी १२, २०२६) बसेको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको थियो। सोही निर्णयअनुसार आज शपथ ग्रहण समारोह सम्पन्न भएसँगै नेतृत्व हस्तान्तरणको प्रक्रिया पूरा भएको छ।

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरू, उच्च अधिकारीहरू तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली, पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

चौधरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघ (CNI) का वरिष्ठ उपाध्यक्षसमेत हुन्। उनको व्यापक कर्पोरेट अनुभवले नबिल बैंकको रणनीतिक दिशा थप सुदृढ हुने अपेक्षा गरिएको छ।

नयाँ अध्यक्षको औपचारिक कार्यभारसँगै नबिल बैंकले आफ्नो ‘nBank’ डिजिटल रूपान्तरण कार्यक्रमलाई थप तीव्रता दिने र दिगो बैंकिङ पहलहरू विस्तार गर्ने विश्वास लिइएको छ। हाल नबिल बैंकले देशभर २६८ शाखामार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।