नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। सभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०८१/८२ को समिक्षा प्रस्तुत गर्दै विश्व अर्थतन्त्र चुनौतीका बाबजुद पनि क्रमशः लचिलो बन्दै गएको बताइन्।
अध्यक्ष सिंहका अनुसार कोभिड–१९ महामारी तथा भूराजनीतिक कारणले सिर्जना भएको विश्व मुद्रा अस्थिरता हाल घट्दो क्रममा रहेकाले विश्वका अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अवलम्बन गरिरहेका छन्। उनले नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान उल्लेख गर्दै आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने भए पनि आर्थिक वर्ष २०८२/८३ मा बढ्दो राजनीतिक तथा सामाजिक अनिश्चितताका कारण वृद्धिदरमा केही संकुचन आउन सक्ने आकलन गरिएको जानकारी गराइन्।
सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको छ। समीक्षा अवधिमा कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा सञ्चालनबाट जम्मा १४ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ खुद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ। कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई वर्षअन्त्यमा ९४ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
यसैगरी समीक्षा वर्षमा कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति, आंशिक अवधि समाप्ति, समर्पण मूल्य तथा अन्य दाबी शीर्षकमा ९ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार सबै लगानीयोग्य रकम पारदर्शी र दीर्घकालीन प्रतिफल दिने उपकरणहरूमा लगानी गर्दै आएको र यसबाट बीमितहरूको हित अधिकतम रूपमा संरक्षण हुने विश्वास व्यक्त गरेको छ। समीक्षा वर्षमा कम्पनीको कूल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७७ अर्ब ९० करोड २० लाख रुपैयाँ पुगेको छ। लगानी प्रतिफलमा स्थायित्व ल्याउने उद्देश्यले दीर्घकालीन निक्षेपमा बढी लगानी गर्ने रणनीति अवलम्बन गरिएको र आर्थिक वर्ष २०८१/८२ मा औसत वार्षिक लगानी प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको जनाइएको छ।
लगानी विविधिकरणतर्फ अघि बढ्दै कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रुपैयाँ ८५ पैसामा खरिद गरेको छ। यससँगै उक्त बैंकमा कम्पनीको सेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ।
सभामा कम्पनीले प्रवर्द्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेड आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालनमा आइसकेको र आर्थिक वर्ष २०८१/८२ का लागि पहिलोपटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी पनि दिइयो।
पूर्वाधार तथा प्रविधि विकासतर्फ कम्पनीले इटहरी शाखाका लागि आफ्नै स्वामित्वको जग्गामा आधुनिक व्यावसायिक भवन निर्माण प्रक्रिया अघि बढाएको छ। साथै, कम्पनीलाई प्रविधिमैत्री बनाउन तथा कर्मचारीहरूको क्षमता विकासका लागि प्राविधिक तालिममा निरन्तर लगानी गरिरहेको उल्लेख गरिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कम्पनीले व्यवसायिक लक्ष्य र सामाजिक दायित्वबीच सन्तुलन कायम गर्दै खुद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तरण गरेको छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा केन्द्रित सहयोग अन्तर्गत समीक्षा वर्षमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको स्वास्थ्य उपचार परियोजनाका लागि २५ लाख रुपैयाँसहित कुल ७० लाख २५ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिइयो।
३८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रुपैयाँमा ८.५ प्रतिशत नगद लाभांश (४६ करोड ५१ लाख ८२ हजार ८७८ रुपैयाँ) र ४ प्रतिशत बोनस सेयर (२१ करोड ८९ लाख ९ हजार ५८९ रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, नगद तथा बोनस लाभांशमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ६० लाख ४ हजार ८६७ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णयसमेत स्वीकृत गरिएको छ।
नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेअनुसार हालको चुक्ता पूँजीमा ४ प्रतिशत बोनस सेयर थप भएपछि कम्पनीको कूल चुक्ता पूँजी ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार ३२५ रुपैयाँ पुगेको छ।
