नेशनल लघुवित्तको १२औँ साधारणसभा सफल, शेयरधनीलाई १५% लाभांश वितरण

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबार बनेपा स्थित अरनिको पार्टी प्यालेसमा आफ्नो १२औँ वार्षिक साधारणसभा (AGM) सफलतापूर्वक सम्पन्न गरेको छ। संचालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१÷०८२ को नाफाबाट शेयरधनीहरूलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८१÷०८२ का वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह सहितका वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

२०७१ सालमा स्थापना भएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी तथा समिट लघुवित्त वित्तीय संस्थासँग मर्जर गरी नेशनल लघुवित्त वित्तीय संस्था गठन गरेको थियो। बाह्र वर्षको सफलतापूर्वक सेवाप्रदानको क्रममा संस्थाले २०८२ असोजसम्म देशका सातै प्रदेशका ७४ जिल्लामा १८५ वटा शाखा कार्यालयमार्फत २ लाख ५३ हजार विपन्न परिवारमध्ये १ लाख २२ हजार ऋणीलाई करिव २६ अर्ब रुपैयाँ कर्जा र करिव ६ अर्ब ५० करोड रुपैयाँ बचत परिचालन गर्न सफल भएको छ।

सभामा ८ लाख ७४ हजार ४४३ कित्ता साधारण शेयर प्रिमियम सम्बन्धित निकायबाट स्वीकृति लिएर सार्वजनिक निष्काशन (FPO) मार्फत शेयर जारी गरी बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीबाट संस्थापक समूहतर्फको १० प्रतिशत शेयर नियमनकारी निकायबाट स्वीकृति लिएर सर्वसाधारण शेयरमा कन्भर्सन गर्ने प्रस्ताव पनि पारित भएको छ।

नेशनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत श्री राम बहादुर यादवले भनेका छन्, “संस्थाले ग्राहकको हकहित संरक्षण, उद्यमशीलता विकास, वित्तीय साक्षरता प्रवर्द्धन र प्राविधिक दक्षतामा उच्चतम लगानी गर्दै अगाडि बढ्ने योजना बनाएको छ।”