रिलायन्स फाइनान्सको १६औँ साधारणसभा सम्पन्न

रिलायन्स फाइनान्स लिमिटेडको १६औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभाको उद्घाटन संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले पानस प्रज्वलन गर्दै गरेका थिए।

सभामा संस्थाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित भएका छन्। साथै, बाह्य लेखापरीक्षकको नियुक्ति र वित्तीय संस्था मर्जर/प्राप्ति सम्बन्धी संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि स्वीकृत भएको छ।

गत आर्थिक वर्षमा संस्थाको निक्षेप १.०३% ले वृद्धि भई रु. ८६४ करोड पुगेको छ भने कर्जा ८.७०% ले वृद्धि भई रु. ७०९ करोड पुगेको छ। यससँगै संस्थाको मुनाफा ६१% वृद्धि भई रु. ६ करोड ८६ लाख पुगेको छ। संस्थाले कर्जा असूली कार्यलाई योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाउँदै आएको जनाएको छ।

सभामा शेयरधनी डा. बालकृष्ण चापागाई र दिपक आचार्यले वार्षिक प्रतिवेदनमा छलफल गरेका थिए भने अन्य शेयरधनीहरूले लिखित सुझावहरू पनि प्रस्तुत गरेका थिए।

यसैगरी, संस्थामा १० वर्षभन्दा बढी संचालक भई योगदान पुर्‍याएका पूर्व संचालक विष्णुमान जोशीलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो। १० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई समेत सम्मान गरिएको छ। साथै, उत्कृष्ट कार्य प्रदर्शन गर्ने ३ वटा शाखालाई बेस्ट ब्रान्च अवार्डबाट पुरस्कृत गरिएको थियो।

संस्थाले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी मिति २०६६÷०८÷१८ बाट केन्द्रीय कार्यालय कमलादीबाट कारोबार सुरु गरेको थियो। हालसम्म न्यूरोड काठमाडौँ, सितापाइला काठमाडौँ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, बेशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरिया कैलाली, दमक झापा, बिर्तामोड झापा, धुलाबारी झापा र टाँडी चितवन गरी जम्मा २१ वटा शाखा कार्यालयमार्फत कारोबार गर्दै आएको छ।

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ ग्राहकहरूलाई सहज र सर्वसुलभ तरिकाले विभिन्न प्रकारका कर्जा तथा आकर्षक व्याजदरसहितका निक्षेप योजना प्रदान गर्दै आएको छ।