अरु दल अन्योलमै छन्, एमाले अघि बढिसक्यो : पेम्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले) प्रतिको युवापुस्ताको आकर्षण र भरोसा पछिल्लो समय फेरि मजबुत बन्दै गएको आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङले दाबी गरेका छन् ।

विभिन्न राजनीतिक दलहरू जेनजी आन्दोलनपछि अन्योलमा परेर पुरानै राजनीतिक धारमा फर्किँदै गर्दा एमाले भने संगठन, विचार र आधारका हिसाबले अघि बढ्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

नीति ३६५ सँगको टेलिफोन संवादमा महासचिव गुरुङले एमालेको नीति, नेतृत्व र संगठनात्मक क्षमता क्रमशः परिपक्व हुँदै गएको उल्लेख गरे । उनले यही कारण आगामी दिनमा नेपाली राजनीतिक क्षेत्रमा एमाले बलियो र प्रभावशाली शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

महाधिवेशनबाट आफू प्रतिनिधि भएर आउन नपाए पनि पार्टीप्रतिको आस्था र माया कहिल्यै नघट्ने स्पष्ट पार्दै गुरुङले भने, ‘केन्द्रीय समितिमा नभए पनि हामी एमालेभित्र अझ बलियो भएर अघि बढ्छौँ । एमाले हाम्रो शिरको पार्टी हो ।’

उनले पार्टीभित्र बसेर संगठनलाई थप मजबुत बनाउने, पार्टीको विचार जनतामाझ पुर्याउने र युवाहरूलाई सकारात्मक रूपमा राजनीतिमा जोड्ने अभियानलाई अझ सशक्त बनाइने बताए ।

एमाले सधैं आफ्नो आस्थाको पार्टी रहेको उल्लेख गर्दै गुरुङले पार्टीले आगामी दिनमा अझ प्रभावकारी काम गर्दै जनताको भरोसा जित्ने दाबी गरे । युवापुस्तामा बढ्दो आकर्षण, संगठनभित्रको एकता र स्पष्ट राजनीतिक दिशाका कारण एमालेप्रति थप माया र विश्वास बढ्दै गएको गुरुङको निष्कर्ष छ ।