कञ्चनपुर–कमला सडकले गति लिँदै, ६९ प्रतिशत काम सम्पन्न

नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ६९ प्रतिशत भौतिक प्रगति भएको छ। एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माण भइरहेको ८६ दशमलव ८३ किलोमिटर लामो यो सडक आयोजना पटक–पटक म्याद थपिँदा पनि अझै पूर्ण हुन सकेको छैन।

सन् २०२० जुनमा चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुपसँग सम्झौता भई निर्माण सुरु भएको यो सडक २८ अक्टोबर २०२३ भित्र सम्पन्न हुनुपर्ने थियो। तर साइट क्लियरेन्सको समस्या र कोरोना महामारीलाई कारण देखाउँदै पहिलो पटक १४ महिना र दोस्रो पटक १२ महिना म्याद थपिएको थियो। हालै आगामी जुनसम्मका लागि तेस्रो पटक थप छ महिना समय दिइएको छ।

करिब रु १६ अर्ब आठ करोड ५० लाखभन्दा बढी लागत अनुमान गरिएको यो परियोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। पूर्वी खण्ड कञ्चनपुरदेखि कुसहा (३९ दशमलव ४२ किमि) र पश्चिम खण्ड कुसहादेखि कमला (४७ दशमलव ४ किमि) सम्म फैलिएको छ।

पूर्वी खण्डमा ६७ प्रतिशत प्रगति

लहानस्थित पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी इञ्जिनियर राजीव झाका अनुसार हालसम्म यस खण्डमा ६७ प्रतिशत भौतिक प्रगति भएको छ। चौबीस किलोमिटर सडक चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ। साथै ११३ वटा कल्भर्ट र २० वटा पुल निर्माण भई सवारीसाधन सञ्चालनमा आइसकेका छन्।

तर कञ्चनपुर, महुली, रुपनी, कल्याणपुरजस्ता बजार क्षेत्रमा छ लेन निर्माण गर्नुपर्ने स्थानमा स्थानीय अवरोधका कारण काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। “प्राविधिक रूपमा आवश्यक नपर्ने स्थानमा समेत नाला निर्माणको दबाब र अन्य अवरोधले काम सुस्त भएको छ,” इञ्जिनियर झाले बताए। यद्यपि थपिएको म्यादभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण तीव्र पारिएको उनको भनाइ छ।

पश्चिम खण्डमा डिजाइन र ओभरपास चुनौती

पश्चिम खण्डको मिर्चैया कार्यालयका अनुसार गत असोज मसान्तसम्म ३० दशमलव ८५ किलोमिटर चार लेन सडक निर्माण भइसकेको छ। एक सय १२ वटा कल्भर्ट र २५ वटा पुलमध्ये १२ वटा सञ्चालनमा आइसकेका छन्। गोलबजार क्षेत्रमा भने डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा निर्माणले गति लिन सकेको छैन।

कार्यालयका सूचना अधिकारी अनुपम साहका अनुसार लहान र मिर्चैयामा ओभरपासका लागि पाइल फाउण्डेसनको काम भइरहेको छ। लहान क्षेत्रमा माटो कमजोर देखिएकाले २० वटा ग्राभेल फाउण्डेसन निर्माण गरिएको छ। लहान बसपार्क र प्रादेशिक अस्पताल अगाडि आकाशे पुलको जग निर्माणसमेत सम्पन्न भइसकेको उनले जानकारी दिए।

मुख्य सडक चार लेन र बजार क्षेत्रमा छ लेनको हुने यस आयोजनामा पुल, कल्भर्ट, ओभरपासलगायत संरचनाको अन्तिम फिनिसिङका काम अझै बाँकी छन्। यस सडक विस्तारमा एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी रहेको छ।