एलआइसी नेपालको २४औँ वार्षिक सभा सम्पन्न, २१% नगद लाभांश पारित

एलआइसी नेपालले आफ्नो २४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको हो।

सभाले हाल कायम चुक्तापुँजीको कुल २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको अध्यक्षद्वारा प्रस्तुत संचालक समितिको वार्षिक प्रतिवेदन सभाले अनुमोदन गरेको छ।

लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिएको छ। सभा अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित भएको छ। बहालवाला लेखापरीक्षक श्री केजे एशोशिएट्स पुन: नियुक्त हुन योग्य हुने प्रस्ताव पारित भएको छ।

सभाले संस्थापक शेयरधनीबाट नियुक्त सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ। साथै संचालक समितिका अध्यक्ष र सदस्यहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित भएको छ।

कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) अनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन भएको छ। अध्यक्षको अनुमतिमा अन्य केही विषयहरू पनि पारित भएका छन्।