नेपालको बीमा क्षेत्रमा ठूलो रूपान्तरणको तयारी भैरहेको छ। तेस्रो राष्ट्रिय बीमा संवाद (3rd National Insurance Discourse) को घोषणा गरिएको छ, जसले बीमा क्षेत्रको भविष्य पुनःनिर्माण गर्न नीति–संवादको प्रभावशाली मंचको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
यस संस्करणका लागि लोकप्रिय अभिनेत्री सानिशा भट्टराई लाई आधिकारिक रूपमा ‘फेस अफ इन्सुरेन्स’ नियुक्त गरिएको छ। सानिशाले जटिल बीमा नीतिहरूलाई सरल भाषामा बुझाउने, युवा वर्ग र सिर्जनात्मक पेशाका व्यक्तिलाई बीमाको महत्व बुझाउने, साथै ग्रामीण तहसम्म बीमाको पहुँच विस्तार गर्ने भूमिकामा काम गर्नेछिन्।
सानिशा भट्टराईले आफ्नो नियुक्ति अवसरमा भनिन्, “बीमा विश्वास र भविष्यको स्थिरताको आधार हो। म तेस्रो राष्ट्रिय बीमा संवादको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित छु र आम नागरिकलाई आफ्नो मेहनतका सपना सुरक्षित राख्न बीमा आवश्यक रहेको बुझाउन चाहन्छु।”
तेस्रो राष्ट्रिय बीमा संवादको मुख्य उद्देश्यहरू:
-
डिजिटल रूपान्तरण र इन्सरटेक – बीमा खरिद र दाबी प्रक्रियालाई छिटो, पारदर्शी र डिजिटल प्रणालीमा ल्याउने।
-
समावेशी बीमा पहुँच – ग्रामीण क्षेत्र, कृषि बीमा र स्वास्थ्य बीमा मार्फत वंचित समुदायसम्म बीमा पहुँच विस्तार।
-
नीति र नियामक सुधार – नेपाल बीमा प्राधिकरणको सहभागितामा राष्ट्रिय बजेट र नियमावली सुधार गरी बीमितको अधिकार संरक्षण।
अघिल्ला संस्करणहरूले सरकारको आर्थिक एजेन्डामा बीमालाई अगाडि ल्याउन सफल भएका थिए। यस पटक तेस्रो राष्ट्रिय बीमा संवाद ले देशभर बीमा पहुँच विस्तार र साझा दृष्टिकोण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम विवरण:
-
नाम: तेस्रो राष्ट्रिय बीमा संवाद २०२६
-
मुख्य व्यक्तित्व: सानिशा भट्टराई, फेस अफ इन्सुरेन्स
-
मिति: जनवरी २१, २०२६
-
आयोजक: बैंकिङ समाचार & न्यूज अफ इन्सुरेन्स
बैंकिङ समाचारका प्रबन्ध निर्देशक राजु ढुङ्गेल का अनुसार, “तेस्रो राष्ट्रिय बीमा संवाद केवल छलफलको कार्यक्रम होइन, यो बीमा उद्योगलाई जिम्मेवार बनाउने र नागरिकलाई सजग बनाउने आन्दोलन हो।”
