वीरगञ्जस्थित स्काइलाइन इन्फ्रा लिमिटेड को व्यवसायमा उल्लेख्य सुधार देखिएको छ। सन् २०२४ को सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय होटल चेन ‘सरोवर पोर्टिको’ सञ्चालनमा आएसँगै कम्पनीको कारोबारको आकार सात गुणाभन्दा बढीले वृद्धि भएको हो।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार आर्थिक वर्ष २०२४ मा कम्पनीको कुल सञ्चालन आम्दानी १ करोड २० लाख रुपैयाँ मात्र रहेकोमा, आर्थिक वर्ष २०२५ मा यो ८ करोड ५० लाख रुपैयाँ पुगेको छ। कुल आम्दानीमा होटल व्यवसायको हिस्सा ७४ प्रतिशत रहेको छ भने बाँकी आम्दानी व्यावसायिक मलको भाडाबाट प्राप्त भएको छ। चालू आर्थिक वर्ष २०२६ को पहिलो पाँच महिनामा मात्र कम्पनीले ३ करोड ९० लाख रुपैयाँको कारोबार गरिसकेको छ।
कम्पनीको पूँजी संरचना पनि बलियो बनेको छ। प्रवर्द्धकहरूले थप पूँजी लगानी गरेपछि ऋण र पूँजी अनुपात सन् २०२४ मा ३.०३ गुणा रहेकोमा सन् २०२५ को डिसेम्बरसम्म ०.९० गुणामा झरेको छ। नियमित ऋण भुक्तानी र इक्विटी इन्फ्युजनले कम्पनीको नेटवर्थ बढाएको र वित्तीय जोखिम कम गरेको रेटिङ रिपोर्टमा उल्लेख छ।
कर्जा सुविधाको लागि इन्फोमेरिक्स नेपालले कुल १ अर्ब ६ करोड २२ लाख ८० हजार रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ। दीर्घकालीन कर्जाका लागि ‘इन्फोमेरिक्स नेपाल बी प्लस’ र अल्पकालीन कर्जाका लागि ‘इन्फोमेरिक्स नेपाल ए फोर’ रेटिङ प्रदान गरिएको छ।
कम्पनीको रणनीतिक अवस्थिति पनि लाभदायी छ। होटल र मल परियोजना वीरगञ्जको रणनीतिक स्थानमा रहेको छ र नेपाल-भारत सीमा (रक्सौल नाका) बाट मात्र ४ किलोमिटरको दूरीमा छ। भारतीय पर्यटकहरूको आगमन र ‘सरोवर होटल्स’ सँगको सहकार्यले कम्पनीको बजार उपस्थितिलाई मजबुत बनाएको छ। मलका सटरहरू दीर्घकालीन सम्झौतामा भाडामा लगाइएकाले स्थिर नगद प्रवाहको सुनिश्चितता छ।
तर, चुनौतीहरू पनि छन्। होटल सञ्चालनको पहिलो वर्ष भएकाले सञ्चालन मुनाफा मार्जिन सन् २०२४ को ६४.५५ प्रतिशतबाट सन् २०२५ मा ३१.३७ प्रतिशतमा झरेको छ। प्रारम्भिक उच्च खर्च, बैंक ब्याज र ह्रासकट्टीले मुनाफामा दबाब पारेको हो। होटल उद्योगमा लगानी फिर्ता हुने समय लामो र वीरगञ्जमा तीव्र प्रतिस्पर्धा रहेको पनि चुनौतीका रूपमा देखिएको छ।
