एनसेलले नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गर्दै नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्ने भएको छ। निःशुल्क रूपमा सहभागी हुन सकिने यो कार्यक्रमले नेपालमा तीव्र रूपमा बढिरहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क र सहकार्यका अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
यस वर्षको क्रिएटर्स मेला भोलि २०८२ माघ ३ गते चितवनबाट सुरु हुँदैछ। त्यसपछि माघ १० गते नेपालगन्ज र माघ १६ तथा १७ गते काठमाडौँमा कार्यक्रम आयोजना गरिनेछ।
सन् २०२३ देखि नै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले निरन्तर सहयोग गर्दै आएको छ। नेपाली युवालाई कन्टेन्ट क्रिएशनमार्फत सशक्त बनाउँदै डिजिटल नेपालको लक्ष्यमा योगदान पुर्याउने उद्देश्यसहित सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष ‘भिजन टु भेन्चर’ नाराका साथ आयोजना गरिएको हो। यसले सहभागी क्रिएटरका आइडियालाई व्यवहारमा उतार्न सकिने सीप र वास्तविक अवसरमा रूपान्तरण गर्न केन्द्रित रहने जनाएको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले अमेरिकी दूतावाससँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरहरूलाई प्रभावकारी र अर्थपूर्ण डिजिटल सामग्री सिर्जना गर्न सीप अभिवृद्धि गर्ने अवसर दिने बताइन्। साथै, मेलासँगै भिडियो प्रतिस्पर्धा पनि सञ्चालन गरिएको र त्यसमा सहभागीहरूले आफ्नो सिर्जनात्मकता प्रदर्शन गरेर पुरस्कार जित्न सक्ने उनले जानकारी दिइन्।
विद्यार्थी तथा सिकाइको चरणमा रहेका उदीयमान क्रिएटरलाई लक्षित यो कार्यक्रमले सामग्रीलाई अझ परिष्कृत, विश्वसनीय र दिगो बनाउँदै रचनात्मक व्यावसायिक भविष्य निर्माण गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक क्रियाकलापमार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता झल्काउने बताए। ज्ञान, सीप र सञ्जाल विस्तार गर्दै उद्यमशीलता र रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य रहेको उनले उल्लेख गरे। साथै, नेपाली क्रिएटरहरूलाई अमेरिकी व्यावसायिक साझेदार र विश्व बजारसम्म पुग्ने गरी तयार पारिने उनको भनाइ छ।
एनसेल भिडियो प्रतिस्पर्धा
क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा आयोजना गरेको छ। मेलामा सहभागी क्रिएटरहरूले ‘एनसेल फोरजीले तपाईँको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित एक मिनेटको भिडियो इन्स्टाग्राम वा टिकटकमा अपलोड गर्नुपर्नेछ। भिडियोमा एनसेललाई ट्याग गर्दै #CreateGaraPostGara र आफू सहभागी सहरको ह्यासट्याग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रत्येक सहरबाट एक जना विजेता छनोट गरिनेछ, जसले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, विजेताले आगामी दिनमा एनसेल फाउन्डेसनका विभिन्न गतिविधिमा सहभागी हुने अवसर पनि पाउनेछन्।
सन् २०२३ देखि हालसम्म ५,००० भन्दा बढी क्रिएटरहरू यो कार्यक्रममा संलग्न भइसकेका छन्। मेलामा स्पटलाइट सत्र, प्यानल छलफल र विविध विषयमा केन्द्रित गहन विमर्श हुनेछन्। स्थापित कन्टेन्ट क्रिएटरहरूको यात्रा, दर्शक वृद्धि, पहिचान र प्रभावदेखि दीर्घकालीन व्यावसायिक विकाससम्मका विषयहरू कार्यक्रममा समेटिने छन्।
