“नेपालको समृद्धि उर्जा, पर्यटन र कृषिमा आधारित छ: इप्पान”

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डागीले नेपालको समृद्धिको मुख्य आधार उर्जा, पर्यटन र कृषि रहेको बताएका छन्।

इप्पानको कार्यक्रममा बोल्दै डागीले जलविद्युतमा ८२ हजार मेगावाटभन्दा बढी र सोलार उर्जामा ४० हजार मेगावाटभन्दा बढी सम्भावना रहेको जानकारी दिएका छन्। हाल देशको कुल विद्युत उत्पादन ३ हजार १९५ मेगावाट पुगेको र निजी क्षेत्रको २६ वर्षे यात्रामा ३ हजार ३३५ मेगावाट उत्पादन गर्न सफल भएको उनले बताए।

डागीका अनुसार डिजेल, पेट्रोल र एलपीजी ग्यासको आयात घटाउँदै विद्युत खपत बढाउनु नै समृद्धिको आधार हो। निजी क्षेत्रले उत्पादन गरेको विद्युतको हिस्सा ८३ प्रतिशत पुगेको र निर्माणाधीन ५ हजार ७ सय मेगावाट आयोजनामा अझ बढी योगदान हुने दाबी उनले गरे।

उनले आगामी २–४ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन हुने निश्चित रहेको भन्दै त्यसको खपत र व्यापारका लागि समयमै नीति नबने गम्भीर समस्या आउन सक्ने चेतावनी पनि दिएका छन्। डागीले संसारभर प्रमाणित निजी क्षेत्रलाई विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा अनुमति दिनुपर्नेमा जोड दिएका छन्।

उनीहरूले तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यले २०५५ सालमा पीपीए दर तोकेका कारण आज देश उज्यालो भएको स्मरण गर्दै, वर्तमान सरकारले पनि निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिएर उर्जा क्षेत्रको नयाँ युगको सुरुआत गर्न सक्ने बताए।