अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालमा सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताएका छन्।
२६ औं इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले नेपालको जलभण्डारको बहुआयामिक उपभोग, उपयोग र स्वच्छ उर्जामार्फत समृद्धि हासिल गर्ने प्रचुर सम्भावना रहेको बताए। उनले यस क्षेत्रमा हाल देखिएको उत्साहजनक लगानी र विकास सम्भावनाबीच घरेलु कृषि, उद्योग, यातायात, निर्माण तथा खानीजस्ता क्षेत्रलाई क्रमशः स्वच्छ र नवीकरणीय विद्युत उर्जामा रूपान्तरण गर्न नीतिगत तथा कार्यक्रमगत प्राथमिकता आवश्यक भएको बताए।
मन्त्री सिन्हाले जलविद्युत विकासलाई स्वच्छ उर्जाको रूपमा प्राथमिकता दिनुपर्ने र सौर्य ऊर्जा तथा अन्य नविकरणीय उर्जाको प्रयोगलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। उनले करिब १५ वर्षअघि आवश्यक कानून र अन्तरसम्बन्धित ३१ वटा कानून सरलीकरण गर्नुपर्ने सुझाव भएका पनि उल्लेख गर्दै हालसम्म ठोस पहल नभएकोमा गुनासो व्यक्त गरे।
सिन्हाले भने, “सरकार, निजी क्षेत्र र नागरिक सबैको सहकार्यबाट उर्जा क्षेत्रको तुलनात्मक लाभलाई समृद्धिको आधार बनाउन सकिने अवसर हामीसामु छ। कानून तथा मन्त्रालयहरूबीचको आवश्यक समन्वयमा पहल अझै आवश्यक छ।”
मन्त्री सिन्हाले निजी क्षेत्रको लगानी, सार्वजनिक–निजी साझेदारी र विदेशी लगानीको आगमनले नेपालमा उर्जा उत्पादन र अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुगेको बताए। यससँगै बजार विस्तार, विकास र व्यवसायीकरणमा पनि इप्पानको भूमिका प्रशंसनीय रहेको उनले जोड दिए।
उर्जा क्षेत्रको थप विकासका लागि सरकारले लगानीमैत्री वातावरण निर्माणमा निरन्तर पहल गरिरहेको बताउँदै मन्त्री सिन्हाले दीर्घकालीन सोचसहित सबै पक्षले जिम्मेवारी बहन गर्नु आवश्यक रहेको स्पष्ट पारे।
– न्युज एजेन्सी नेपाल
