रवि र बालेनले आज जनकपुरमा सम्बोधन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माघ ५ गते आज सोमबार धनुषाको जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ गर्दैछ। आज हुने सभाको तयारी अन्तिम चरणमा पुगेको रास्वपाले जनाएको छ।

राजीनामासँगै घण्टीघरमा बालेन

रास्वपाको उद्घोष सभालाई लिएर मधेशको राजनीतिक वातावरण तातेको छ।

सभालाई सम्बोधन गर्न रास्वपामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हिजो आइतबार साँझ जनकपुरधाम आइपुगेका छन्। काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएलगत्तै रास्वपाका वरिष्ठ नेता बालेन जनकपुर पुगेका हुन्।

सभामा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने रास्वपाका नेताहरुले बताएका छन्।

यो सभालाई आगामी चुनावको तयारीको पहिलो सभाको रुपमा लिइएको छ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, बालेन शाहको राजीनामा, मधेश आन्दोलनको बलिदानी दिवस र मधेश केन्द्रित एजेन्डालाई जोडेर आयोजना गरिएको यो सभालाई रास्वपाले मधेशमा आफ्नो राजनीतिक आधार विस्तार गर्ने कडीको रुपमा लिएको छ।

मेयर पदबाट आइतबार मात्रै राजीनामा दिएपछि रास्वपाको घण्टीघरस्थित केन्द्रीय कार्यालय पुगेर वरिष्ठ नेताको जिम्मेवारी सम्हालेका बालेन हिजो आइतबार बेलुका सिधै जनकपुरधाम पुगेका हुन्।

जनकपुरधाम विमानस्थलमा उको स्वागतमा ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए। त्यसक्रममा समर्थकहरूले बालेनको पक्षमा नाराबाजी गर्दै स्वागत गरेका थिए ।

विमानस्थलमा बालेनले सञ्चारकर्मीलाई संक्षिप्त सम्बोधन गरे। त्यसक्रममा बालेनले जनकपुरधाम पुगेर समर्थकहरूलाई भेट्न पाउँदा निकै खुसी लागेको बताए।