इन्फोमेरिक्सको कडाइ, महालक्ष्मी कन्स्ट्रक्सनको साख रेटिङ फिर्ता

नेपालको प्रतिष्ठित क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न प्रालीलाई प्रदान गरेको सम्पूर्ण साख मूल्याङ्कन (क्रेडिट रेटिङ) तत्काल लागू हुने गरी फिर्ता लिएको छ। कम्पनीले रेटिङको नियमित अनुगमनका लागि आवश्यक वित्तीय विवरण तथा अन्य महत्वपूर्ण सूचना उपलब्ध नगराएपछि यस्तो निर्णय गरिएको एजेन्सीले जनाएको छ।

इन्फोमेरिक्सका अनुसार यसअघि महालक्ष्मी कन्स्ट्रक्सनलाई ‘इस्युअर नट कोअपरेटिङ’ श्रेणीमा राखिएको थियो, जसले कम्पनीले रेटिङ एजेन्सीसँग पर्याप्त समन्वय नगरेको संकेत गर्दछ। नेपाल धितोपत्र बोर्डको निर्देशिका बमोजिम आवश्यक सूचनाको अभाव लामो समयसम्म कायमै रहेपछि अन्ततः रेटिङ फिर्ता गर्ने कदम चालिएको हो।

एजेन्सीले कम्पनीलाई करिब ६ महिनाअघि नै आवश्यक विवरण उपलब्ध नगराएमा रेटिङ फिर्ता हुनसक्ने पूर्व सूचना जारी गरेको थियो। तर सो अवधिमा पनि कम्पनीले वित्तीय अवस्था, कारोबार र आधारभूत सूचकहरूबारे कुनै जानकारी नदिएपछि तथा पटक–पटकको ताकेतालाई बेवास्ता गरेपछि कुल १ अर्ब ३२ करोड ५० लाख रुपैयाँ बराबरका बैंक सुविधाहरूको रेटिङ औपचारिक रूपमा खारेज गरिएको हो।

फिर्ता लिइएका रेटिङमा ७ लाख रुपैयाँको दीर्घकालीन बैंक सुविधा, १९ करोड ३० लाख रुपैयाँको अल्पकालीन बैंक सुविधा तथा १ अर्ब ३० करोड ५० लाख रुपैयाँ बराबरको मिश्रित (दीर्घ तथा अल्पकालीन) बैंक सुविधाहरू समावेश छन्।

पर्याप्त सूचना नहुँदा कम्पनीको वर्तमान वित्तीय अवस्था, ऋण तिर्ने क्षमता र सम्भावित व्यावसायिक जोखिमहरूको मूल्याङ्कन गर्न नसकिने भएकाले लगानीकर्ता तथा सरोकारवालाहरूको हित संरक्षणका लागि रेटिङ फिर्ता लिनुपरेको इन्फोमेरिक्सले स्पष्ट पारेको छ।

सन् १९७६ मा फर्मका रूपमा स्थापना भई सन् १९८५ मा प्राइभेट लिमिटेड कम्पनीमा रूपान्तरण भएको महालक्ष्मी कन्स्ट्रक्सन नेपालको एक ‘क’ वर्गको निर्माण कम्पनी हो। काठमाडौंको बालाजुमा दर्ता कार्यालय रहेको यस कम्पनीको नेतृत्व हाल तीन जना व्यक्तिगत शेयरधनीहरूले गर्दै आएका छन्।