चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन भएको तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सफलतापूर्वक सम्पन्न भएको छ। माघ २ देखि माघ ४ गतेसम्म आयोजित एक्स्पोमा ३१ हजारभन्दा बढी अवलोकनकर्ताको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न उक्त एक्स्पोमा कृषक, कृषि उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार छोटो अवधिको कार्यक्रम भए पनि अवलोकनकर्ताको चासो र सहभागिता अपेक्षाभन्दा उच्च रह्यो।
“एक्स्पो छोटो भए पनि प्रविधि र उत्पादनबारे बुझ्न, जान्न र प्रयोगका विषयमा अवलोकनकर्ताले गहिरो रुचि देखाउनुभयो। प्रदर्शकहरू पनि सहभागिताप्रति सन्तुष्ट हुनुहुन्छ,” भट्टराईले बताए।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले यसपटकको एक्स्पोमा लक्षित समूहका अवलोकनकर्ताहरूको सहभागिता विशेष रूपमा देखिएको उल्लेख गरे। उनका अनुसार विगतका मेला तथा एक्स्पोमा सबै प्रकारका अवलोकनकर्ता आउने गरे पनि यस वर्ष भने कृषक, उद्यमी र विषयगत क्षेत्रका व्यक्तिहरूको उपस्थिति बढी रहेको थियो। यस्ता कार्यक्रमहरूले सार्थकता पाउँदै गएको र सहभागीहरूले अधिकतम लाभ लिएको उनको भनाइ छ।
यस वर्षको एग्रीटेक इन्टरनेसनल एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरू राखिएका थिए। प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा यन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, मल, बीउ–बिजन, कीटनाशक, कृषि तालिम तथा वित्तीय समाधानसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
अन्तर्राष्ट्रिय स्तरको यस प्रदर्शनीमा प्रवर्द्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको थियो। साथै राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा सहभागी थिए।
माघ ४ गतेसम्म सञ्चालन भएको एक्स्पोमा सर्वसाधारणका लागि निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको थियो।
