सर्वेश सूरी आईएफसीको एशिया–प्रशान्त क्षेत्रीय उपाध्यक्षमा नियुक्त

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले २५ वर्षभन्दा लामो अनुभवसम्पन्न विश्वव्यापी लगानी र विकास विशेषज्ञ सर्वेश सूरी लाई एशिया र प्रशान्त क्षेत्रका लागि नयाँ क्षेत्रीय उपाध्यक्षमा नियुक्त गरेको छ।

सिङ्गापुरबाट कार्यभार सम्हाल्ने सूरीले निजी क्षेत्रलाई परिचालन गरी जटिल विकास चुनौती समाधान गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने काममा केन्द्रित हुने आईएफसीले जनाएको छ। उनी भारतदेखि प्रशान्त टापु क्षेत्रसम्म फैलिएको आईएफसी टोलीको नेतृत्व गर्दै वित्तीय, उत्पादन, कृषि, सेवा, पूर्वाधार र प्राकृतिक स्रोतसम्बन्धी परियोजनाहरूमा निजी क्षेत्रका समाधान डिजाइन गर्नेछन्।

सूरीलाई सहयोगका लागि दुई नयाँ डिभिजन निर्देशक पनि नियुक्त भएका छन्। केइको मिवा (जकार्ता, इन्डोनेसिया) दक्षिण–पश्चिम एशिया र प्रशान्त टापुको व्यवस्थापन गर्नेछन् भने अर्नाड डुपोइजाट (हङकङ) फेब्रुअरी १, २०२६ देखि पूर्वी एशियाको कार्यभार सम्हाल्नेछन्।

नियुक्तिपछि सूरीले भने, “मैले एशियामै हुर्कें र पहिलो पटक काम पनि यहीं गरें। सार्वजनिक र निजी क्षेत्रको क्षमतालाई एकीकृत गर्दै यस क्षेत्रका जल्दाबल्दा विकास चुनौतीहरू समाधान गर्ने अवसर प्राप्त हुनु मेरो लागि गौरवको कुरा हो।” उनले रोजगारी सिर्जना र स्थानीय पूँजी बजारलाई बलियो बनाउने आईएफसीका उपकरणको अधिकतम प्रयोग आफ्नो प्राथमिकता रहेको पनि स्पष्ट पारे।

यसअघि सूरी जोहानेसबर्ग, दक्षिण अफ्रिकामा पूर्वाधार र प्राकृतिक स्रोतका लागि आईएफसीका क्षेत्रीय उद्योग निर्देशक थिए र ‘मिसन ३००’ कार्यक्रम सुरु गर्न महत्वपूर्ण भूमिका निभाएका थिए। उनले विश्व बैंक समूहको बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सीमा ६ वर्ष र आईएफसीमा विभिन्न नेतृत्वदायी पदहरूमा १५ वर्ष काम गरिसकेका छन्।