डिजिटल पहुँच विस्तारतर्फ ‘खल्ती बाई आईएमई’को नयाँ यात्रा

आईएमई समूहले खल्ती एप खरिद गरी आईएमई पेसँग मर्ज गरेपछि बनेको नयाँ डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती बाई आईएमई’ अब केवल भुक्तानी सेवामा सीमित नरही बैंक, बीमा र धितोपत्र बजारका खुद्रा कारोबारतर्फ अघि बढ्ने तयारीमा छ। यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले समाजको तल्लो वर्गसम्म वित्तीय सेवा पुर्‍याउने लक्ष्यसहित नयाँ योजनाहरू अघि सारिएको बताएका छन्।

गत फागुनमा नेपाल राष्ट्र बैंकबाट मर्जरको अनुमति पाएको खल्ती र आईएमई पेले पुस ३० गते सबै औपचारिक मर्जर प्रक्रिया पूरा गरेका हुन्। रेग्मीका अनुसार वालेट मर्जर बैंक मर्जरजस्तो सरल नभई विभिन्न सेवाहरूलाई अलग–अलग रूपमा ‘इन्टिग्रेशन’ गर्नुपर्ने भएकाले समय लागेको हो। हाल ‘डाटा माइग्रेशन’ सम्पन्न भइसकेको र मर्जरपछिको प्रणाली स्थायित्वमा केन्द्रित भएर काम भइरहेको उनले जानकारी दिए।

उनले भने, “१ र १ जोडेर २ बनाउने होइन, ११ बनाउने हो। मर्जरको सार यही हो।” प्राविधिक प्रणाली स्थिर भइसकेको र कर्मचारीहरूबीचको समन्वय पनि विस्तारै मजबुत बन्दै गएको उनको भनाइ छ।

बैंकसँग सहकार्य, वालेटमै ब्याज

‘खल्ती बाई आईएमई’ले बैंकसँग सहकार्य गर्दै स्मार्ट डिपोजिट, सुपर वालेट जस्ता सेवाहरू सञ्चालनमा ल्याइसकेको छ। प्रयोगकर्ताले वालेटमै ब्याज पाउने व्यवस्था गरिएको छ भने नबिल बैंकको एटीएमबाट नगद निकाल्न सकिने सुविधा पहिल्यै उपलब्ध छ। अब छिट्टै ‘फिजिकल कार्ड’ (एटीएम कार्ड) पनि ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ, जसबाट जुनसुकै बैंकको एटीएम प्रयोग गर्न सकिनेछ।

साना निक्षेप र लघु कर्जामा जोड

रेग्मीका अनुसार कम्पनीको मुख्य फोकस साना–साना निक्षेप, मुद्दती खाता, माइक्रो क्रेडिट र दैनिक जीवनसँग जोडिएका खुद्रा बैंकिङ सेवामा रहनेछ। “हामी १ करोडको एसएमई कर्जा दिन सक्दैनौँ, तर ५–१० हजारका साना कर्जा दिन सक्छौँ,” उनले भने। यसले साना व्यवसायी, दैनिक ज्यालादारी र स्वरोजगारमा लागेकाहरूलाई ठूलो राहत दिने विश्वास लिइएको छ।

भुक्तानी बजारमा ठूलो सम्भावना

नेपालको वित्तीय कारोबार अझै २०–२५ प्रतिशत मात्र डिजिटल भएको उल्लेख गर्दै रेग्मीले भविष्यमा यो अनुपात ६०–७० प्रतिशतसम्म पुर्‍याउन सकिने बताए। उनका अनुसार वालेट र बैंकबीच स्पष्ट भूमिका विभाजन हुनुपर्छ—साना भुक्तानी वालेटबाट र ठूला कारोबार बैंकबाट।

डिजिटल साक्षरतामा जोड

डिजिटल भुक्तानीको विस्तारका लागि सिकाइ अपरिहार्य रहेको बताउँदै रेग्मीले विद्यालय, कलेज, समुदाय र परिवारस्तरमै डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताए। केवल क्यासब्याक र लोभ देखाएर दिगो परिवर्तन सम्भव नहुने उनको भनाइ छ।

पहुँच नै मुख्य चुनौती

हाल शहरी क्षेत्रका सीमित समूहमा मात्रै डिजिटल कारोबार केन्द्रित रहेको भन्दै उनले वास्तविक प्रयोगकर्तासम्म पुग्नु नै सबैभन्दा ठूलो चुनौती भएको बताए। विशेषगरी घरायसी खर्च व्यवस्थापन गर्ने अभिभावक पुस्तालाई डिजिटल सेवामा जोड्न नवप्रवर्तन र सरल समाधान आवश्यक रहेको उनको निष्कर्ष छ।

रेग्मी ‘खल्ती बाई आईएमई’लाई केवल भुक्तानी एप नभई समावेशी डिजिटल वित्तीय प्लेटफर्मको रूपमा विकास गर्ने दिशामा अघि बढिरहेका छन्।