वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार सूर्यविनायक–२, बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको हो ।
विभागले नियमित अनुगमनका क्रममा उक्त फर्ममा कानुन विपरीतका गतिविधि देखिएपछि जरिवाना तोकेको जनाएको छ । यसै क्रममा विभागले थप १२ वटा फर्मको पनि स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा विभिन्न फर्महरूमा सुधार गर्नुपर्ने विषय पहिचान गर्दै आवश्यक सुधारात्मक निर्देशन दिइएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन नियमित रूपमा अनुगमन गर्दै कानुन कार्यान्वयन गरिँदै आएको छ । अनुगमन कार्य स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा गरिएको जनाउँदै विभागले आगामी दिनमा पनि बजार निगरानीलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।
