१६५ सिटका लागि ३ हजार ४८४ उम्मेदवार प्रतिस्पर्धामा

प्रत्यक्ष निर्वाचनमा १६५ सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल उम्मेदवारमध्ये ३९५ महिला र ३ हजार ८८ पुरुष छन्।

उमेरको आधारमा हेर्दा ३६–५० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा बढी रहेका छन्। २५–३५ वर्ष उमेर समूहमा ५८३ उम्मेदवार छन्, जसमा ६७ महिला र ५१५ पुरुष छन्।

३६–५० वर्ष उमेर समूहमा १ हजार ६१० उम्मेदवार छन्, जसमा २३५ महिला र १ हजार ३७५ पुरुष रहेका छन्। ५१–६५ वर्ष उमेर समूहमा १ हजार ९० उम्मेदवार छन्, जसमा ९० महिला र १ हजार पुरुष छन्।

६५ वर्षभन्दा माथि उमेर समूहमा २०१ उम्मेदवार रहेका छन्, जसमा ३ महिला र १९८ पुरुष रहेका छन्।

निर्वाचनमा हालसम्म ६८ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन्। आयोगका अनुसार विभिन्न उमेर, लिंग र दलगत प्रतिनिधित्वसहित निर्वाचन प्रतिस्पर्धा उत्साहित र सशक्त हुने अपेक्षा गरिएको छ।