नारायणी आयलको व्यापार उछाल, १० अर्ब नाघ्यो कारोबार

बारा जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको नारायणी आयल रिफाइनरी उद्योग प्रालिले सन् २०२५ मा उल्लेख्य व्यापारिक वृद्धि हासिल गरेको छ। कम्पनीले उक्त वर्ष १० अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२३ प्रतिशतले वृद्धि भएको हो।

केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको क्रेडिट रेटिङ प्रतिवेदनअनुसार पछिल्लो वर्ष कम्पनीको आम्दानीमा उत्साहजनक सुधार देखिएको छ। सन् २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा भने ४ अर्ब ५८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो।

खाद्य तेल अत्यावश्यक उपभोग्य वस्तु भएकाले यसको स्थिर माग तथा भारतीय बजारमा निर्यातको अवसरले कम्पनीको व्यापार वृद्धिमा महत्वपूर्ण योगदान पुगेको प्रतिवेदनमा उल्लेख छ। बैंकिङ कर्जा सुविधाका लागि गरिएको क्रेडिट रेटिङअनुसार कम्पनीका लागि ५ अर्ब १७ करोड ४० लाख रुपैयाँको कर्जा सीमा निर्धारण गरिएको छ।

कम्पनीले लिएको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको दीर्घकालीन ऋणमा ‘केयर–एनपी बीबी प्लस’ र ३ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको अल्पकालीन ऋणमा ‘केयर–एनपी ए फोर प्लस’ रेटिङ प्रदान गरिएको छ।

सन् १९८९ देखि सञ्चालनमा रहेको नारायणी आयल रिफाइनरी नेपालको खाद्य तेल उद्योगमा तीन दशकभन्दा बढी समयदेखि स्थापित नाम हो। कम्पनी प्रतिष्ठित चचान ग्रुपद्वारा सञ्चालित छ र यसको नेतृत्व निर्देशक निखिल चचानले गरिरहेका छन्। कम्पनीले ‘त्रिशक्ति’, ‘स्माइल’ र ‘आरोग्य’ ब्रान्डमार्फत सोयाबिन, पामोलिन तथा सूर्यमुखी तेलको उत्पादन तथा बिक्री गर्दै आएको छ।

तेल उद्योग अन्तर्राष्ट्रिय कच्चा पदार्थको मूल्य र सरकारी नीतिबाट प्रत्यक्ष प्रभावित हुने क्षेत्र हो। यद्यपि, कम्पनीको सञ्चालन मुनाफा ७.७१ प्रतिशत र खुद नाफा ५.२९ प्रतिशत कायम रहनुले वित्तीय सुदृढता झल्काउँछ। सन् २०२५ मा कम्पनीको ऋण तिर्न सक्ने क्षमता ३.९० गुणा रहेको छ।

यो उद्योग ‘वर्किङ क्यापिटल इन्टेन्सिभ’ प्रकृतिको भएकाले धेरै कार्यशील पुँजी आवश्यक पर्छ। कच्चा पदार्थ आयात गर्दा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने भएकाले विदेशी मुद्रा विनिमय दरको उतारचढावले नगद प्रवाहमा दबाब सिर्जना गर्न सक्ने जोखिमसमेत रहेको छ।

साथै, कम्पनीको कुल आम्दानीको करिब ६७ प्रतिशत भारततर्फको निर्यातमा निर्भर रहेकाले भारतीय भन्सार नीतिमा हुने परिवर्तनलाई सम्भावित जोखिमका रूपमा हेरिएको छ। यद्यपि, आगामी दिनमा बजार सन्तुलन मिलाउने र सञ्चालन दक्षता बढाउने रणनीतिले कम्पनी अझ मजबुत बन्दै जाने विश्वास रेटिङ प्रतिवेदनले व्यक्त गरेको छ। अत्यावश्यक वस्तुको व्यापार भएकाले मागसम्बन्धी जोखिम न्यून रहनु कम्पनीका लागि सकारात्मक पक्ष मानिएको छ।