काँकरभिट्टाबाट इन्धन आयात बढ्दा राजस्व सबल

चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात उल्लेख्य रूपमा बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ तथा मट्टितेल गरी कुल रु ९ अर्ब ७७ करोड २ लाख ३२ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात रु ५१ करोड ५९ लाख ४३ हजारले वृद्धि भएको छ, जुन ५.६० प्रतिशत बराबर हो। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि सकारात्मक रूपमा बढेको छ। सो अवधिमा राजस्व ५.७० प्रतिशत अर्थात् रु २५ करोड ४२ लाख ४० हजारले वृद्धि भएको हुमागाईंले जानकारी दिए।

कार्यालयको विवरणअनुसार चालु आवको पहिलो ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै रु ४ अर्ब ७४ करोड ९४ लाख ३६ हजार राजस्व संकलन भएको छ। यस अवधिमा रु ४ अर्ब ७२ करोड ६ लाख मूल्य बराबरको ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात गरिएको छ।

यस्तै, रु ३ अर्ब २२ करोड ६५ लाख मूल्य बराबरको ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ। एलपी ग्यासतर्फ छ महिनामा रु १ अर्ब २४ करोड ७ लाख मूल्य बराबरको १२ हजार ८११ मेट्रिक टन आयात भएको तथ्याङ्क छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय उडान तथा हवाई सेवामा प्रयोग हुने एटिएफ रु ३७ करोड ९४ लाख मूल्य बराबरको ४ हजार ११२ किलोलिटर आयात भएको छ भने रु ९ करोड ५ लाख मूल्य बराबरको ९६४ किलोलिटर मट्टितेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ।