नेपाल र भारतबीच व्यापार सहजीकरण र भन्सार प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ। माघ ७ गते २०८२ (तदानुसार जनवरी २१, २०२६) भारतको नयाँदिल्लीमा आयोजित औपचारिक कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीपत्रले नेपालका प्रमुख व्यापारिक साझेदार भारतसँग निकासी गरिने वस्तुहरूको आगमनपूर्व सूचना आदान–प्रदान गर्ने, जोखिम विश्लेषणमार्फत् भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई प्रभावकारी बनाउने व्यवस्था समेटेको छ। यसले भन्सार प्रक्रियामा लाग्ने समय कम गर्दै सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने र विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदान–प्रदान गर्ने व्यवस्था तय गर्दछ।
समझदारीपत्रअनुसार:
-
सूचनाको उपयोग केवल समझदारीपत्रअनुकूल हुने,
-
कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने,
-
प्रारम्भमा नमूनाको रूपमा केही वस्तुमा कार्यान्वयन गरी पछि सबै वस्तुमा लागू गर्ने,
-
विवाद भए कुटनीतिक माध्यमबाट समाधान गर्ने र आवश्यक परे संशोधन गर्न सकिने व्यवस्था गरिएको छ।
उक्त अवसरमा महानिर्देशक भण्डारीले भारतीय पक्षलाई धन्यवाद ज्ञापन गर्दै शीघ्र कार्यान्वयनमा जोड दिएका थिए। उनले बताए, “यो समझदारीपत्रले दुबै देशको भन्सार प्रशासनबीचको सम्बन्धलाई मजबुत बनाउने, जोखिम देखिएका वस्तुको निगरानी तथा नियमनमा सहयोग गर्ने र सही कारोबार गर्ने व्यवसायीलाई छिटो र सहज भन्सार सेवा उपलब्ध गराउनेछ।”
सिबीआइसीका अध्यक्ष चतुर्वेदीले पनि नेपालसँग यस्तो समझदारीपत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्दै शीघ्र कार्यान्वयनमा प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा नेपालको तर्फबाट चार जना अधिकारी र भारतको तर्फबाट सिबीआइसी अध्यक्षसहित अन्य सदस्यहरू उपस्थित थिए।
