सुपर खुदी हाइड्रोपावरको आईपीओ आज अन्तिम दिन, मागभन्दा अघि निष्काशन रोकिने

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (माघ ८ गते) अन्तिम दिन हो। कम्पनीले पुस २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि शेयर निष्काशन र बिक्री खुला गरेको थियो।

कम्पनीले आवेदन दिने मिति माघ २१ गतेसम्म थप गरेको थियो, तर मागभन्दा बढी आवेदन परेकाले कम्पनीले तय मिति भन्दा अघि नै निष्काशन बन्द गर्ने तयारी गरेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमा प्रतिशेयर मूल्य १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरिएका शेयरमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता साधारण शेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानिय बासिन्दाहरूमाझ वितरण गरिनेछ। बाँकी ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता शेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।