निर्वाचनअघि इन्धन खपत बढ्ने अनुमान, आयल निगम तयारीमा जुट्यो

आगामी निर्वाचनका कारण नेपालमा पेट्रोल, डिजेल र अन्य पेट्रोलियम पदार्थको खपत १० दिनमै २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ। यसैलाई ध्यानमा राखेर नेपाल आयल निगमले इन्धन व्यवस्थापनको तयारी सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

आयल निगमको तयारी:

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार, चाडपर्वमा जस्तै चुनाव अवधिमा इन्धनको माग बढ्ने भएकाले सबै डिपोमा पर्याप्त भण्डारण गर्न निर्देशन दिइँदैछ। चुनावको समयमा केही नाकाहरु बन्द हुने भएकाले इन्धन आपूर्ति रोकावट नहोस् भन्ने सुनिश्चित गर्न डिपोमा पर्याप्त स्टक राखिने बताए।

सधैं करिब २०–२५ लाख लिटर पेट्रोल र ३८–४० लाख लिटर डिजेल खपत हुने गरेको भए पनि चुनावको १० दिनअगाडि २०–२५ प्रतिशत वृद्धि हुने अनुमान छ। त्यसअनुसार स्टक व्यवस्थापन गरिने छ।

भण्डारण र पाइपलाइन विस्तार:

अहिले निगमको भण्डारण क्षमता डिजेलका लागि १४ दिन र पेट्रोलका लागि १२ दिन पुग्ने गरी विस्तार भइसकेको छ। अमलेशगञ्जमा नयाँ १४ हजार केएल क्षमताका ४ वटा भण्डारण ट्याङकी निर्माण भएका छन् भने पोखरा, विराटनगर र नेपालगंजमा रहेका ट्याङकीहरू प्रयोगमा ल्याइएका छन्।

पाइपलाइनमार्फत इन्धन ढुवानीलाई अझ सहज बनाउन मोतिहारी–अमलेशगञ्ज पाइपलाइन सञ्चालनमा ल्याइएर पेट्रोल, डिजेल र मटिटतेल ढुवानी भइरहेको छ। यसले ढुवानी खर्च घटाएर उपभोक्तालाई प्रतिलिटर करिब २–३ रुपैयाँसम्म सस्तो पर्न मद्दत गरेको छ। आगामी योजनाअनुसार अमलेशगञ्ज–चितवन र सिलगुढी–झापा पाइपलाइन पनि निर्माण गर्ने तयारी भइरहेको छ।

कार्यकारी निर्देशक भट्टले बताए, “हामीसँग अहिले १७–१८ सय ट्याङकरहरू छन्, जसलाई मोभिलाइज गरेर स्टक राखिनेछ। चुनाव अवधिमा बोर्डर बन्द भए पनि बजारमा कुनै समस्या नहोस् भन्ने हाम्रो लक्ष्य हो।”

नेपाल आयल निगमले आवश्यक इन्धनको सहज आपूर्ति सुनिश्चित गर्न, भण्डारण क्षमता विस्तार र पाइपलाइन विस्तारको काम तिव्र गतिमा अगाडि बढाइरहेको छ।

–न्युज एजेन्सी नेपाल