काठमाडौँ इङ्लिस स्कुलमा बसन्त पञ्चमी एवं श्री सरस्वती पूजा कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ महानगरपालिका- ५ नं वडा सानो गौचरणस्थित काठमाडौँ इङ्लिस स्कुलमा बसन्त पञ्चमी तथा श्री सरस्वती पूजाको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ज्ञान, विद्या र बुद्धिकी देवी सरस्वतीको आराधना,पाठ पूजा सहित आयोजित उक्त कार्यक्रममा विद्यालय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर पुडासैनी, प्रधान अध्यापक दिनेश खतिवडा, विद्यालयका शिक्षक–शिक्षिकाहरू, अभिभावकहरू, विद्यार्थीहरू, शुभचिन्तक, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो। विधिपूर्वक सरस्वती देवीको पूजा, स्तुति तथा आराधना गरी कार्यक्रम सुरु गरिएको थियो।

हिन्दू धर्म र संस्कृतिअनुसार बसन्त पञ्चमीको दिन अक्षर आरम्भ गर्नु शुभ मानिन्छ। यही मान्यतालाई आत्मसात गर्दै विद्यालयले भर्ना योग्य उमेरका बालबालिकाहरूका लागि ‘अक्षर आरम्भ’ कार्यक्रम सञ्चालन गरेको थियो । जसअन्तर्गत बालबालिकाहरूलाई पहिलो अक्षर चिनाउने कार्य गरिएको थियो। यस अवसरलाई बालबालिकाको शैक्षिक यात्राको औपचारिक सुरुवातको रूपमा लिइने गरिन्छ।

पूजापछि उपस्थित विद्यार्थीहरूलाई प्रसाद वितरण गरिएको थियो भने विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। नृत्य, गीत तथा साना प्रस्तुतीहरूले उपस्थित अभिभावक तथा पाहुनाहरूको मन जितेको थियो।

कार्यक्रमकै अवसरमा विद्यालयमा उल्लेखनीय सङ्ख्यामा नयाँ विद्यार्थीहरूको भर्ना भएको जानकारी विद्यालयका प्रिन्सिपल दिनेश खतिवडाले दिनुभयो। उहाँका अनुसार सरस्वती पूजाको अवसरमा अभिभावकहरूमा विद्यालयप्रतिको विश्वास अझ बलियो भएको देखिएको छ। कार्यक्रममा विद्यालयका संस्थापकहरूको समेत उपस्थिति रहेको थियो।नयाँ भर्ना भएका विद्यार्थीलाई पुरस्कार स्वरुप कलम कपि बितरण गरिएको थियो।

ज्ञान, कला, संगीत र शिक्षाको प्रतीकको रूपमा सरस्वती पूजा मनाइन्छ। विद्या आर्जनमा सफलता मिलोस्, अज्ञानताको अन्धकार हटोस् र सकारात्मक सोचको विकास होस् भन्ने कामनासहित यो पूजा हरेक वर्ष बसन्त पञ्चमीका दिन मनाइने परम्परा रहेको छ।

काठमाडौँ इङ्लिस स्कुलले धार्मिक–सांस्कृतिक मूल्य र शैक्षिक उद्देश्यलाई एकैसाथ जोड्दै यस प्रकारका कार्यक्रमहरू निरन्तर गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ।