खजुरीकोको व्यापारमा निरन्तर उडान

बिस्कुट तथा कन्फेक्सनरी क्षेत्रको स्थापित स्वदेशी ब्रान्ड ‘खजुरीको’ उत्पादन गर्ने खजुरीको नेपाल प्रालिले आक्रामक बजार विस्तार रणनीतिसँगै आफ्नो व्यापारलाई निरन्तर उकास्दै लगेको छ । कम्पनीको पछिल्लो वित्तीय विवरणले यसको कारोबार र वित्तीय संरचनामा उल्लेख्य सुधार देखाएको छ ।

आर्थिक वर्ष २०२४/२५ मा खजुरीको नेपाल प्रालिले झन्डै २० प्रतिशत व्यापार वृद्धि गर्दै २ अर्ब ४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । विगत पाँच वर्षको तथ्यांक हेर्दा कम्पनीको व्यापार निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । सन् २०२१ मा १ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको कारोबार सन् २०२२ मा १ अर्ब ६४ करोड, सन् २०२३ मा १ अर्ब ७० करोड १० लाख र सन् २०२४ मा पनि १ अर्ब ७० करोड १० लाख रुपैयाँ पुगेको थियो ।

यो सकारात्मक लय चालु आर्थिक वर्ष २०२५/२६ को पहिलो चार महिनामा अझ बलियो देखिएको छ । यस अवधिमा कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले व्यापार वृद्धि दर्ता गरेको छ ।

यद्यपि, कच्चा पदार्थको मूल्यमा आएको उतारचढावका कारण कम्पनीको सञ्चालन नाफा मार्जिनमा दबाब देखिएको छ । सन् २०२४ मा १८ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा घटेर १२ प्रतिशतमा झरेको छ ।

यसका बाबजुद कम्पनीले आफ्नो पूँजी संरचनामा उल्लेखनीय सुधार गर्न सफल भएको छ । सन् २०२३ मा ४.० गुणा रहेको ऋण–नेटवर्थ अनुपात सन् २०२५ सम्म आइपुग्दा १.५९ गुणामा झरेको छ । यो सुधार कम्पनीमा थप १५ करोड रुपैयाँ बराबरको नयाँ इक्विटी इन्फ्युजनका कारण सम्भव भएको हो ।

वित्तीय अवस्था र बजार उपस्थितिमा आएको सुधारलाई आधार मान्दै क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले खजुरीकोको कर्जा रेटिङ अपग्रेड गरेको छ । इक्राले कम्पनीको १ अर्ब २६ करोड ९७ लाख रुपैयाँको दीर्घकालीन कर्जाको रेटिङ एलबी प्लसबाट बढाएर एलबीबी कायम गरेको छ । त्यस्तै, २३ करोड ३ लाख रुपैयाँको छोटो अवधिको कर्जाका लागि ए–फोर रेटिङलाई निरन्तरता दिएको छ ।

लामो समयदेखि असहयोगी संस्थाको सूचीमा रहेको कम्पनीले आवश्यक सूचना तथा विवरण उपलब्ध गराएपछि इक्राले खजुरीकोलाई उक्त सूचीबाट पनि हटाएको छ ।

तर, कम्पनीका सामु केही चुनौतीहरू अझै कायम छन् । नगद प्रवाहको तुलनामा साँवा भुक्तानीको दायित्व उच्च रहेकाले ऋण तिर्ने क्षमता जनाउने ‘डेब्ट सर्भिस कभरेज रेसियो’ सन् २०२५ मा ०.९४ गुणामा झरेको छ, जुन सन् २०२३ मा १.३७ गुणा थियो । यसले तरलतामा केही दबाब रहेको संकेत गर्छ ।

साथै, कम्पनीको कुल आम्दानीको करिब ७८ प्रतिशत हिस्सा दुई प्रमुख उत्पादनमा मात्रै निर्भर रहनु, स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डसँगको तीव्र प्रतिस्पर्धा र गहुँ, चिनी तथा पाम आयल जस्ता कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य उतारचढाव पनि जोखिमका रूपमा देखिएका छन् ।

सन् १९९५ मा सानो प्रोप्राइटरसिप फर्मका रूपमा सुरु भएको यो व्यवसाय सन् २००४ मा कम्पनीको रूपमा दर्ता भएको थियो । हाल ललितपुर, चितवन र मकवानपुरमा आफ्नै उत्पादन केन्द्रमार्फत खजुरीकोले बिस्कुट, कुकिज र पफ उत्पादन गरी ‘खजुरीको’ ब्रान्ड नाममा बजारमा बिक्री वितरण गर्दै आएको छ ।