एमडिआरटी सम्मानमा प्रभु महालक्ष्मी लाइफको उत्सव

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी २०२६ का लागि छनोट भएका आफ्ना अभिकर्ताहरूलाई विशेष सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म तीन दिनसम्म चलेको कार्यक्रम उल्लासपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट कार्यसम्पादनले नै सम्मानको मार्ग तयार गर्ने उल्लेख गरे । उनले अभिकर्ताहरूको निरन्तर मेहनत र समर्पणबाट प्राप्त सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सधैं साथ–सहयोगका लागि तयार रहने विश्वास व्यक्त गरे ।

एमडिआरटी जस्तो अन्तर्राष्ट्रिय स्तरको फोरममा छनोट हुनु आफैंमा गर्वको विषय भएको भन्दै उनले सबै सम्मानित अभिकर्ताहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा पनि निरन्तर सफलताको शुभकामना दिए । सफलताको यो माहोललाई कम्पनीले उत्सवका रूपमा मनाएको उनको भनाइ थियो ।

प्रसाईले योग्यताको पहिचान आफूले गरेको कामबाट नै प्रस्ट हुने उल्लेख गर्दै निरन्तर प्रयास र समर्पणबाट प्राप्त उपलब्धिलाई उत्सवका रूपमा मनाउने समय आएको बताए ।

कार्यक्रममा नायव महाप्रबन्धक तथा नेशनल सेल्स हेड सोन बहादुर मगरले पनि आफ्ना विचार व्यक्त गरेका थिए । उनले अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको उच्च मान–सम्मानको उत्कृष्ट उदाहरण भएको बताए । अभिकर्ता पेसा रोजेर निरन्तर लगनशीलताका साथ कार्य गरेकै कारण यस्तो सफलता हासिल भएको भन्दै कम्पनीले त्यसलाई उच्च सम्मानका साथ प्रस्तुत गरेको उनको भनाइ थियो ।

कार्यक्रमको क्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले व्यवसायिक बिक्री कला तथा क्षमता अभिवृद्धि सम्बन्धी विशेष तालिम प्रदान गरेका थिए । तालिमले अभिकर्ताहरूलाई आगामी दिनमा अझ प्रभावकारी र व्यावसायिक रूपमा अघि बढ्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।