अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडियन सामानहरूमा १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया जनाउँदै ट्रम्पले अमेरिका भित्रिने सबै क्यानेडियन उत्पादनमा कडा ट्यारिफ लगाइने दाबी गरेका हुन्।
यद्यपि ट्रम्पले आफ्नो पोस्टमा कुन किसिमको सम्झौतालाई लक्षित गरेका हुन् भन्ने स्पष्ट पारेका छैनन्। तर, गत हप्ता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग ‘रणनीतिक साझेदारी’ घोषणा गर्दै केही भन्सार शुल्क घटाउने सहमति गरेको सार्वजनिक भएको थियो। प्रारम्भमा ट्रम्पले उक्त कदमलाई ‘राम्रो कुरा’ भनेका थिए।
तर डाभोसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्नीले “अमेरिका नेतृत्वको विश्व व्यवस्था अब स्थिर छैन” भन्ने अभिव्यक्ति दिएपछि अमेरिका–क्यानडा सम्बन्धमा चिसोपन देखिन थालेको हो। कार्नीले ठूला शक्तिहरूको आर्थिक दबाब सामना गर्न मध्यम शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए, यद्यपि उनले ट्रम्पको नाम उल्लेख गरेका थिएनन्।
यसको भोलिपल्टै ट्रम्पले एक सार्वजनिक भाषणमार्फत “क्यानडा संयुक्त राज्य अमेरिकाका कारण टिकेको छ” भन्ने टिप्पणी गरे। साथै, उनले आफ्नो नयाँ ‘शान्ति बोर्ड’मा क्यानडालाई सहभागी गराउने प्रस्तावसमेत फिर्ता लिएका छन्।
शनिबार ट्रम्पले फेरि सामाजिक सञ्जालमार्फत क्यानडाले चीनका सामान अमेरिका पठाउने ‘ड्रप अफ पोर्ट’ बन्न खोजेमा त्यो क्यानडाका लागि ठूलो गल्ती हुने चेतावनी दिएका छन्।
यसैबीच, क्यानडाका अमेरिका–व्यापार मन्त्री डोमिनिक लेब्ल्याङ्कले विज्ञप्ति जारी गर्दै चीनसँग कुनै पनि मुक्त व्यापार सम्झौताको प्रयास नभएको स्पष्ट पारेका छन्। उनका अनुसार केही संवेदनशील भन्सार विषयहरूमा मात्र समाधान खोजिएको हो।
ट्रम्पबाट बारम्बार आउने भन्सार धम्की र त्यसले सिर्जना गरेको अनिश्चिततापछि क्यानडाले आफ्नो व्यापार रणनीतिमा विविधीकरण सुरु गरेको छ। अमेरिका बाहेक अन्य मुलुकहरूसँग पनि व्यापारिक सम्बन्ध विस्तार गर्ने प्रयास तीव्र बनाइएको छ।
प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भएको पछिल्लो सहमतिअनुसार चीनले क्यानेडियन क्यानोला तेलमा लगाउँदै आएको ८५ प्रतिशत भन्सारलाई आगामी मार्चसम्म १५ प्रतिशतमा झार्नेछ। बदलामा क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा लगाएको १०० प्रतिशत भन्सार घटाएर ६.१ प्रतिशत कायम गर्ने सहमति गरेको छ।
प्रधानमन्त्री कार्नीले चीनसँगको यस प्रगतिलाई क्यानडालाई “नयाँ विश्व व्यवस्थाका लागि तयार पार्ने कदम”को रूपमा व्याख्या गरेका छन्।
