प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर अण्डाको माग बढेको छ। मागमा आएको वृद्धिसँगै अण्डाको मूल्य पनि क्रमशः उकालो लाग्न थालेको छ। यही सन्दर्भमा नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको फार्म मूल्य बढाएको छ।
सङ्घका अनुसार अब ठूलो अण्डा (३० वटा)को एक क्रेटको फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ। यसअघि ठूलो अण्डा ४६५ रुपैयाँ प्रतिक्रेटमा बिक्री हुँदै आएको थियो, जुन मूल्यमा ३० रुपैयाँको वृद्धि गरिएको हो। त्यसैगरी, मझौला अण्डाको फार्म मूल्य पनि बढाएर ४७५ रुपैयाँ कायम गरिएको छ। यसअघि मझौला अण्डा ४४५ रुपैयाँ प्रतिक्रेटमा बिक्री हुँदै आएको थियो।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहोल सिर्जना हुनु, सीमा क्षेत्रमा कडाइ बढ्नु तथा बजारमा माग बढ्नु अण्डाको मूल्य बढ्नुका मुख्य कारण हुन्। उनका अनुसार उत्पादन गर्ने कुखुराको संख्या घट्दा अण्डा उत्पादन कम हुनु र बन्द रहेका विद्यालयहरू पुनः सञ्चालनमा आउनुजस्ता कारणले पनि मागमा वृद्धि भएको छ।
यसअघि गत मङ्सिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यतिबेला ठूलो अण्डा ५६५ रुपैयाँ प्रतिक्रेट र मझौला अण्डा ५५० रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो।
अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने गरेको छ। यस आधारमा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेपछि पुनः मूल्य घट्दा किसान निरास बनेका थिए।
हाल मूल्यमा पुनः सुधार देखिन थालेपछि किसानमा केही आशा जागेको छ। सङ्घले बजारको अवस्था, माग–आपूर्ति र उत्पादन लागतलाई मध्यनजर गर्दै अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ। माग कायम रहेमा आगामी दिनमा अण्डा बजार थप सक्रिय रहने अपेक्षा गरिएको छ।
