भाटभटेनी संकटपछिको पुनरुत्थानमा अग्रसर

भदौ २३–२४ को जेएनजी आन्दोलनका क्रममा ठूलो क्षति भोगेको भाटभटेनी सुपर स्टोर पुनर्निर्माणको अभियानमा जुटेको छ। आन्दोलनका समयमा भाटभटेनीका १२ वटा स्टोर पूर्ण रूपमा जलेर ध्वस्त भए भने ८ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो। लुटपाट, तोडफोड र आगजनीबाट करिब १६ अर्ब रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भएको कम्पनीले जनाएको छ।

ठूलो संकटको बाबजुद पनि भाटभटेनीले कर्मचारी कटौती गरेन र तलब तथा बोनस रोक्दैन। दसैँको मुखमा आएको कठिनाइका बावजुद अध्यक्ष मीनबहादुर गुरुङले १० हजारभन्दा बढी कर्मचारीलाई निराश हुन दिएनन्।

कोटेश्वरस्थित भाटभटेनीको पुनर्निर्माणमा दैनिक १५ घण्टा खटिँदै आएका गुरुङले कम्पनीलाई अझ मजबुत बनाउने संकल्प लिएका छन्। उनका अनुसार भविष्यमा ५० हजार नेपाली युवालाई रोजगारी दिने र कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना रहेको छ।

खोटाङको किसान परिवारबाट सुरु गरेका गुरुङले २०४१ सालमा श्रीमतीका गहना बेचेर सानो स्टोरबाट भाटभटेनीको यात्रा सुरु गरेका थिए। आज भाटभटेनी हजारौँ नेपालीको लागि रोजगारी र भरोसाको आधार बनेको छ।

“भाटभटेनी मेरो परिवार हो, म मालिक होइन, अभिभावक हुँ,” उनले भने। विपत्तिपछि पनि हार नमान्दै अघि बढेको भाटभटेनीको पुनरुत्थान अभियान नेपाली निजी क्षेत्रको उदाहरणीय संघर्षका रूपमा हेरिएको छ।