राष्ट्रिय वाणिज्य बैंक ६१ वर्षमा, डिजिटल बैंकिङ र नयाँ सेवामा अग्रसर

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको छ। समारोह माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनाल को प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको थियो।

अर्थमन्त्री खनालले ऋणीहरुको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्न, प्रोफाइलिङ गर्न र डिजीटल कारोबारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले धितोमा आधारित भन्दा क्रेडिट स्कोर र तिर्न सक्ने क्षमता अनुसार लगानी गर्दा उद्धमशिलता र आयआर्जनमा टेवा पुग्ने बताए।

सो अवसरमा अर्थमन्त्री खनालले बैंकको विशेषाङ्क स्मारिका उपहार २०८२ विमोचन गरेका साथै यस वर्ष सञ्चालनमा ल्याएका १२ शाखा कार्यालयहरु डिजिटल माध्यमबाट औपचारिक रुपमा उदघाटन गरेका छन्। साथै उनले बैंकको नयाँ प्रडक्ट आरबिबि फोन लोन को शुभारम्भ पनि गरे।

कार्यक्रममा बीस वर्ष सेवा पूरा गरेका कर्मचारीहरू दीर्घसेवा पदक सहित सम्मानित भए। बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालले बैंकिङ सेवा विस्तार गर्दै उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा प्रवाह भइरहेको जानकारी दिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति, योजना र समाजको आर्थिक मेरुदण्डको सारथिका रूपमा बैंकको भूमिका व्याख्या गर्दै डिजिटल बैंकिङ्ग सेवामा बैंकको प्रतिबद्धता स्पष्ट पारे। उनले बैंकलाई २०८०/८१ मा सबैभन्दा बढी QR मर्चेन्ट कारोबार र डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा सम्मान गरिएको जानकारी दिए।