नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, पशुपति स्थित समाज कल्याण केन्द्र वृद्धाश्रम का ६४ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ।
यस पहल मार्फत बैंकले आश्रमका बृद्धबृद्धाहरूको तत्काल आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी ले समाज कल्याण केन्द्र वृद्धाश्रम, पशुपतिकी प्रमुख शशी पौडेल लाई औपचारिक रूपमा सहयोग सामग्री हस्तान्तरण गरेका थिए।
सो अवसरमा पशुपति विकास कोषका सदस्य सचिव प्रकाश मणि शर्मा भूषाल, कोषाध्यक्ष श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रबिण मुनि बज्राचार्य लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।
बैंकले समुदाय स्तरमा यस्ता सामाजिक गतिविधिहरू समय समयमा गर्दै आइरहेको छ। नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ र हाल १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहित बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय संचालनमा छन्।
