नेपाली बजारमा यस साता सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेसँगै सुनचाँदी व्यवसायीहरूले सुनका गरगहना सामान्य जनताको पहुँचभन्दा बाहिर पुगेको टिप्पणी गरेका छन्। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ। माघेसंक्रातिका दिन यो मूल्य तोलामा २ लाख ७६ हजार ५ सय थियो।
सुन व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यका अनुसार हाल सुनको कारोबार कम भएको छ। ‘मानिसहरू सुन बेच्न आइरहेका छन्, किन्न होइन,’ उनले भने। उनका अनुसार सुनको मूल्य नेपालीको क्रयशक्तिभन्दा माथि पुगेको छ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अमेरिकी व्यापार नीतिमा आएको परिवर्तन र विश्वका विभिन्न क्षेत्रमा देखिएका द्वन्द्वका कारण सुनको मूल्य उच्च भएको हो। उनले भने, ‘यो अवस्था कम्तीमा तीन वर्ष कायम रहन सक्ने देखिन्छ।’
सुनका विकल्पका रूपमा चाँदीको माग भने अझै यथावत् छ। आइतबार चाँदीको मूल्य प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको छ। माघ १ गते चाँदीको मूल्य ५ हजार ४ सय ८५ रुपैयाँ थियो। शाक्यका अनुसार चाँदीको औद्योगिक माग उच्च र आपूर्ति सीमित भएकाले यसको मूल्य वृद्धि भएको हो। भविष्यमा इलेक्ट्रिक सवारी साधनका ब्याट्रीमा चाँदीको प्रयोग बढेमा माग अझ बढ्ने सम्भावना रहेको उनको विश्लेषण छ।
नेपालमा ‘पेपर गोल्ड’को कारोबार कानुनी रूपमा छैन। यसले भौतिक सुन नभइ सुनको मूल्यसँग जोडिएका वित्तीय साधनलाई जनाउँछ।
लगानी विकल्पको समस्यामा पूर्वबैंकर थापाले बैंक तथा वित्तीय उपकरणहरू तुलनात्मक रूपमा सुरक्षित भए पनि ब्याजदर कम भएको र पुँजी पलायनको जोखिम रहिरहेकाले लगानीकर्ताहरू विकल्पहीन भएको बताए। प्राध्यापक रामप्रसाद ज्ञवालीले भने सानो पूँजी भएका लगानीकर्ताहरूले व्यवसाय वा उद्यमशीलतामा लगानी गर्न सक्ने सुझाएका छन्।
थापा र ज्ञवाली दुवैको विचारमा सरकारी संयन्त्रले जलविद्युत तथा पूर्वाधारजस्ता लाभदायक क्षेत्रमा लगानीको वातावरण सिर्जना नगरेसम्म नेपाली लगानीकर्ताले विकल्प खोज्न कठिन हुने देखिन्छ।
–(बीबीसी नेपाली सेवाबाट)
