कांग्रेसको जीतले देशलाई हराभरा बनाउने: बंशलाल तामाङ

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले देश परिवर्तनका लागि सोच र कार्यशैली दुवै परिवर्तन आवश्यक रहेको बताएका छन्। उनी कांग्रेसलाई विजयी बनाइ देशलाई हराभरा र समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्दै आएका छन्।

परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले भने, “देश बदल्नको लागि हामीले बद्लिनुपर्छ, सोच बदल्नुपर्छ। त्यो सोच बदल्नको लागि नेपाली कांग्रेसलाई जिताउनुपर्छ। कांग्रेस जितेमा देशलाई हराभरा बनाउन सकिन्छ।”

उहाँले निर्वाचन प्रचारप्रसारका पुराना शैलीमा आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै विगतमा सयौं गाडी प्रयोग गरेर गरिएको प्रचारले जनताको मन कति जित्यो भन्ने मूल्याङ्कन गर्नुपर्ने बताए। साथै, निर्वाचित प्रतिनिधिहरूले जनताको कति काम गर्न सकेको विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने उनले जोड दिए।

कार्यक्रममा तामाङले भावी प्रधानमन्त्रीका रूपमा चित्रित कांग्रेस नेता गगन थापाको चर्चा गर्दै भने, “गगन थापा देशभर कांग्रेस जिताउन सक्रिय छन्। उहाँले आफ्नो क्षेत्र ४ छोडेर तराईको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ। यसले नेपाली कांग्रेसको दृष्टिकोण स्पष्ट गर्दछ कि नेता केवल काठमाडौंमा सीमित छैनन्, तराई, पहाड र हिमाल सबैलाई समान रूपमा हेर्नुपर्छ।”

उहाँले थपे, “सर्लाहीको ४ नम्बर क्षेत्रमा चुनाव लड्नु भनेको कांग्रेसले देशभर आफ्नो पहुँच पुर्‍याउने प्रयास हो। भावी प्रधानमन्त्रीले आफ्नो क्षेत्र छोडेर तराई रोज्नु भनेको समग्र देशलाई प्रतिनिधित्व गर्ने प्रतिबद्धता हो।”

बंशलाल तामाङको विचार अनुसार, कांग्रेसको जीतले मात्र देशलाई हराभरा र समृद्ध बनाउन सकिन्छ, र यसका लागि सोच र शैली दुवै परिवर्तन अनिवार्य रहेको छ।