नेपाल पुलिस क्लबले एनसेल छैटौं टाइगर कप च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिप अन्तिम खेलमा पुलिसले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २२-२५ र दोस्रो सेट १६-२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५-२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । चौथो सेटमा पुलिसले २५-१५ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।
पर्वतको दोस्रो जित
पर्वत जिल्ला भलिबल संघले च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित दर्ता गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वतले एपिएफलाई ३(१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो ।
पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१-२५ ले एपिएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित गर्यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जित निकालेको हो ।
यसअघि पर्वतले आफ्नो पहिलो खेलमा पुलिसलाई पाँचौं सेटमा पराजित गरेका थियो । एपिएफले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको थियो । अब आजको अन्तिम खेल पुरुषतर्फ पुलिस र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।
थाइल्याण्ड क्विन्ससँग पुलिसको हार
थाइल्याण्ड क्विन्सले पोखरामा एनसेल छैंटौं टाइगर कप भलिबल च्याम्पियनसिपको महिलातर्फ पहिलो जित निकालेको छ।
पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा हराएको हो । पहिलो दुई सेट गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै थाइल्याण्ड क्विन्सले नतिजा आफ्नो पक्षमा पारेको हो।
थाइल्याण्ड क्विन्स २२-२५,२०-२५,२५-२३,२५-१४,१६-१४ ले विजयी भएको हो । हिजो एपिएफसँग ५ सेट खेलेको क्विन्स ३-२ सेटमा पराजित भएको थियो। पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले हराएको थियो।
न्यु डायमण्डको दोस्रो जित
टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ।
तेस्रो दिनको पहिलो खेलमा न्यु डायमण्डले एपिएफलाई ३-० को सोझो सेटमा हराएको छ।
न्यु डायमण्डले एपिएफलाई २५-१७,२५-२१,२५-२३ ले हराएको हो । न्यु डायमण्डले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो।
प्रतियोगिताको महिलातर्फ ५ र पुरुषतर्फ ६ टोलीको सहभागिता रहेको छ। महिलातर्फ न्यु डायमण्ड, आर्मी नेपाल पुलिस क्लब, एपिएफ र थाइल्याण्ड क्विन्स छन्। पुरुषतर्फ पनि ३ विभाग पुलिस, आर्मी,एपिएफ सहित गण्डकी प्रदेश, पर्वत जिल्ला र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोलीले फाइनल तथा तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।
