म्याट्रिक्सको व्यापार उकालो यात्रामा

बहुराष्ट्रिय ब्रान्ड गोदरेजका उपभोक्तामुखी उत्पादनहरू (एफएमसीजी) नेपालमा बिक्री गर्दै आएको म्याट्रिक्स प्राइभेट लिमिटेडले पछिल्ला वर्षहरूमा निरन्तर रूपमा आम्दानी वृद्धि गर्दै आएको छ। सन् २०१८ मा नेपालमा स्थापना भएको म्याट्रिक्स प्रालि भारतीय कम्पनी गोदरेज कन्जुमर प्रोडक्ट्सको आधिकारिक वितरक हो।

कम्पनीले गोदरेजका उत्पादनहरूको बिक्रीमार्फत सन् २०२५ मा १ अर्ब ४७ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष सन् २०२३/२४ मा कम्पनीको व्यापार १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ रहेको थियो। यस आधारमा सन् २०२४/२५ मा म्याट्रिक्सको कारोबार करिब ८.३२ प्रतिशतले वृद्धि भएको देखिन्छ। यसअघि सन् २०२२/२३ मा कम्पनीले १ अर्ब २७ करोड ८० लाख रुपैयाँ र सन् २०२१/२२ मा १ अर्ब ९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो।

आम्दानीमा क्रमिक वृद्धि देखिए पनि कम्पनीको नाफा मार्जिन भने घट्दो क्रममा रहेको छ। सन् २०२३ मा ४.४ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा ३.८ प्रतिशतमा झरेको थियो भने सन् २०२५ मा अझ घटेर ३.१ प्रतिशतमा सीमित भएको छ। तीव्र बजार प्रतिस्पर्धा र न्यून मार्जिनका कारण नाफामा दबाब परेको इक्रा नेपालको क्रेडिट रेटिङ प्रतिवेदनले औँल्याएको छ। कम्पनीको कुल आम्दानीको करिब ९८ प्रतिशत हिस्सा गोदरेजका उत्पादनहरूबाटै आउने गरेको छ।

बैंक कर्जा सुविधाका सन्दर्भमा इक्रा नेपालले म्याट्रिक्सका लागि ८० करोड रुपैयाँको कर्जा सीमा निर्धारण गरेको छ। हालसम्म कम्पनीले उक्त सीमाको करिब ९२ प्रतिशत कर्जा उपयोग गरिसकेको छ, जसअनुसार ७० करोड रुपैयाँभन्दा बढी बैंक ऋण प्रयोग भइसकेको देखिन्छ। यसले आगामी दिनमा तरलता व्यवस्थापनमा थप सावधानी आवश्यक हुने संकेत गरेको छ।

कम्पनीको कर्जा भुक्तानी क्षमतामा पनि चुनौती देखिएको छ। सन् २०२४/२५ मा कम्पनीको साँवा तथा ब्याज भुक्तानी क्षमता ०.९ गुणा मात्रै रहेको छ, जसले ऋण दायित्व पूरा गर्न दबाब बढेको जनाउँछ। दैनिक सञ्चालन खर्च तथा गोदरेजका उत्पादन आयात गर्नसमेत बैंक कर्जामा निर्भर रहनुपरेको अवस्था इक्राको रिपोर्टले देखाएको छ। उच्च कार्यपुँजीको आवश्यकता र लामो व्यापारिक चक्रका कारण ऋणमा निर्भरता बढ्दै गएको हो।

इक्रा नेपालले म्याट्रिक्स प्राइभेट लिमिटेडको दीर्घकालीन कर्जा सीमाका लागि ‘इक्राएनपी एलबी प्लस’ र अल्पकालीन कर्जा सीमाका लागि ‘इक्राएनपी ए फोर’ रेटिङ पुनः पुष्टि गरेको छ। गोल्छा अर्गनाइजेसनको प्रवर्द्धन र व्यवस्थापकीय अनुभवले कम्पनीलाई केही वित्तीय लचकता प्रदान गरे पनि घट्दो नाफा मार्जिन, न्यून नगद मौज्दात र उच्च ऋणभार आगामी दिनका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।