नेपाल–साउदी श्रम सहकार्य नयाँ चरणमा

एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर भएको छ। साउदी अरबको रियादमा सम्पन्न कार्यक्रममा साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्नासम्बन्धी सम्झौता गरिएको हो।

सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्।

सम्झौता हस्ताक्षरपछिको बैठकमा मन्त्री भण्डारीले यसले नेपाल र साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत, व्यवस्थित र मजबुत बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार उक्त सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउने स्पष्ट आधार तयार गरेको छ।

सम्झौतामार्फत साउदी अरबमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको हकहित संरक्षण, रोजगार सुरक्षाको प्रत्याभूति तथा कार्यस्थलमा मर्यादित व्यवहार सुनिश्चित हुने अपेक्षा गरिएको छ। साथै श्रमिक भर्ना प्रक्रियामा देखिँदै आएका अनियमितता र अतिरिक्त लागत नियन्त्रणमा सहयोग पुग्ने विश्वास पनि गरिएको छ।

दुवै देशबीच श्रम क्षेत्रमा सहकार्य विस्तार हुने यस सम्झौताले वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउँदै नेपाली श्रमिकहरूको जीवनस्तर सुधारमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।