चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कम्पनीको खुद नाफा ६२ लाख २६ हजार १३० रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ७ लाख ३४ हजार ९५८ रुपैयाँ मात्र थियो। यस आधारमा चालु वर्षमा नाफामा ७४७.१५ प्रतिशतको वृद्धि भएको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्षको पुस मसान्तसम्म १ करोड ३१ लाख २७ हजार रुपैयाँ रहेको खुद बीमा शुल्क २११.७५ प्रतिशतले बढेर ४ करोड ९ लाख २५ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको कुल आम्दानी ८ करोड १८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ७ करोड २७ लाख रुपैयाँ रहेको छ। बीमा दाबी भुक्तानी २ करोड ११ लाख २४ हजार रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष ०.५६ रुपैयाँबाट बढेर २.३७ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ १०२.१२ रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ५४ लाख ३२ हजार, महाविपत्ति कोषमा ५ लाख ४३ हजार र रिटेन्ड अर्निङमा ३ लाख ९९ हजार रुपैयाँ सञ्चित छ।
यस अवधिमा कम्पनीले कुल ६९ हजार ५१६ बीमा पोलिसी जारी गरी १७ करोड ५ लाख ६४ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १० करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो।
